‘हामी तीन भाइ’लाई लगानी सुरक्षित गर्न कठिन !
काठमाडौं। चलचित्र ‘हामी तीन भाइ’ले भने बक्सअफिसमा निकै कमजोर सुरुवात गरेको छ ।
गत चैत १३ गतेबाट प्रदर्शनमा आएको यस चलचित्रले हलसम्म उल्लेख्य संख्यामा दर्शक तान्न असफल देखिएको हो ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्सअफिस रिपोर्ट अनुसार प्रदर्शनको पछिल्लो शनिबारसम्मको तथ्यांक हेर्दा चलचित्रको व्यापार निराशाजनक छ ।
सार्वजनिक रिपोर्ट अनुसार ‘हामी तीन भाइ’ले शनिबारसम्म जम्मा ६ लाख ३२ हजार ३४४ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो चलचित्र हेर्न देशभरका हलहरूमा जम्मा २ हजार २८५ जना दर्शक मात्र पुगेका छन् ।
पुरानो ब्लकबस्टर चलचित्रको नामसँग जुधाएर नाम राखिए पनि यो चलचित्रले दर्शकको मन जित्न सकेन । चलचित्रमा विनोद न्यौपाने, फलित राई र कुशल विष्टले ‘तीन भाइ’को मुख्य भूमिका निभाएका छन् । यी तीनका अलावा चलचित्रमा लक्ष्मी बर्देवा, आश्मा गिरी, जाहन्वी बस्नेत, वरिष्ठ हास्य कलाकार राजाराम पौडेललगायतको अभिनय रहेको छ ।
२२ वर्षअघि प्रदर्शनमा आएको स्व. शिव रेग्मी निर्देशित ‘हामी तीन भाइ’ हलमा एक सय दिनभन्दा बढी समय चलेको थियो । यो तत्कालीन समयमा सर्वाधिक कमाउने चलचित्र समेत हो ।
‘हामी तीन भाइ’को नाममा बनेका नयाँ चलचित्रलाई मधुसुदन भट्टराईले निर्देशन गरेका हुन् । पारिवारिक प्रेमकथा र सामाजिक विषयवस्तुमा आधारित भनिएको यस चलचित्रलाई लिएर निर्माण पक्षले ठूलो आशा राखेको थियो ।
हालको अवस्था हेर्दा चलचित्रले आफ्नो लगानी सुरक्षित गर्न निकै कठिन देखिएको छ ।
यो पनि पढ्नुहोस्

