‘सेतो धरती’ नाटकमा रेखा थापाको इन्ट्री
काठमान्डौं । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्दै गरेको नाटक ‘सेतो धरती’को निर्मातामा रेखा थापा भित्रिएकी छन् । यही चैत २७ गतेदेखि मञ्चन हुने नाटकमा रेखाको प्रवेश भएको हो ।
अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कारविजेता प्रसिद्ध पुस्तक सेतो धरती मा आधारित यस नाटकको मुख्य भूमिकामा अभिनेत्री बेनिशा हमालले पहिलो पटक रंगमञ्चमा डेब्यु गर्दै गरेको समाचार यसअघि नै सार्वजनिक भइसकेको थियो ।
अहिले भने नाटकमा निर्माताको रूपमा रेखा थापा जोडिएसँगै दर्शकहरूको चासो अझ बढेको छ । आज कान्तिपुर फिल्म एकेडेमीले सार्वजनिक गरेको पोस्टरमा लेखक अमर न्यौपाने, निर्माता रेखा थापा र निर्देशक सुन्दर धितालको नाम उल्लेख गरिएको छ ।
सुन्दर धितालले यसअघि रेखा थापाकै डेब्यु नाटक मीरा निर्देशन गरेका थिए भने रेखाले पनि कान्तिपुर फिल्म एकेडेमीकै थिएटरबाट रंगमञ्च यात्रा सुरु गरेकी थिइन् ।
हाल धमाधम रिहर्सल भइरहेको नाटक सेतो धरती मा बेनिशा हमाल लगायत फिल्म, थिएटर र कान्तिपुर फिल्म एकेडेमीका गरी ३० भन्दा बढी कलाकारहरू एकैपटक मञ्चमा देखिँदै छन् ।
नेपाल साहित्य जगतको लोकप्रिय तथा सर्वाधिक बिक्री भएको उपन्यास भएकाले पनि सेतो धरती लाई नेपाली रंगमञ्चका दर्शक र साहित्य क्षेत्रले अपेक्षाका साथ हेरेका छन् ।
यसअघि कान्तिपुर थिएटरले दीपक सिंजालीको उपन्यास मीरा मा रेखा थापा तथा पारिजातको उपन्यास शिरीषको फूल मा जीवन लुइँटेललाई रंगमञ्चमा ल्याएर नाटक निर्माण गरिसकेको छ । अहिले बेनिशा हमालको रंगमञ्च आगमनलाई पनि विशेष चासोका साथ हेरिएको छ ।
कान्तिपुर फिल्म एकेडेमीले कान्तिपुर थिएटरमार्फत रंगमञ्च, सिनेमा र साहित्यलाई जोड्ने उद्देश्यले चर्चित पुस्तकहरूलाई नाटकका रूपमा प्रस्तुत गर्दै आएको एकेडेमीका सीईओ प्रकाश पुरीले बताए ।
नाटक ‘सेतो धरती’ यही चैत २७ गते शुक्रबारदेखि वैशाख १९ गते शनिबारसम्म मञ्चन हुनेछ । बुधबारबाहेक हरेक दिन साँझ ५ः१५ बजे तथा शनिबार, आइतबार र नयाँ वर्षको दिन दिउँसो १ः१५ बजे पनि विशेष शो रहनेछ ।

