‘एक्का तीन’मा पुष्प र पूजाको जोडी, एक्सन अवतारमा देखिने

काठमाडौं । निर्देशक रुपेश तामाङ चलचित्र ‘दान्भी’पछि अर्को नयाँ एक्सन सिनेमाको निर्माणको तयारीमा छन् ।

गत असारमा थिम पोस्टर सार्वजनिक गर्दै तामाङले चलचित्र ‘एक्का तीन’को निर्माणको घोषणा गरेका थिए । यतिबेला उनी कलाकारको लाइनअप तयारी गर्दैछन् ।

यो चलचित्रमा निर्माणको घोषणा समयमा नायिका पूजा शर्मालाई मुख्य भूमिकाका लागि फाइनल गरेका निर्देशक तामाङले नायक पुष्प खड्कालाई पनि भित्राएका छन् ।

जुना फिल्मस् र अधिरा फिल्मस्ले संयुक्त रुपमा निर्माण गर्न लागे चलचित्रका लागि पुष्प र निर्माण टिमबीच हालै कागजी सम्झौता भएको छ ।

यो चलचित्रमा पुष्पको भूमिका कस्तो हुनेछ भन्नेबारे निर्माण पक्षले अहिले नै खुलाउन चाहेको छैन, तर यसमा उनलाई भिन्नै अवतारमा देख्न पाइने संकेत गरिएको छ ।

पुष्प चलचित्र ‘एक्का तीन’मा पूजाको जोडी बनेर प्रस्तुत हुनेछन् । यो उनीहरूको दोस्रो सहकार्य हो । यसअघि दुवैले चलचित्र ‘छत्तीसको आँकडा’मा स्क्रिन सेयर गरिसकेका छन् । 

चलचित्रको प्रि-प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको निर्देशक तामाङले जानकारी दिएका छन् । उनका अनुसार फिल्मको छायांकन आउँदो वर्षको जेठ महिनाबाट सुरु हुनेछ । ‘हामी अहिले धमाधम कलाकारहरु फाइनल गर्दै प्रि-प्रोडक्सनको तयारीलाई पूर्णता दिइरहेका छौं,’ निर्देशक तामाङले बताए ।

‘एक्का तीन’ मार्फत नेपाली चलचित्र क्षेत्रले दुई नयाँ अनुहार पाउने भएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार यस फिल्मबाट एक जना नव-नायक र एक जना नव-नायिकालाई डेब्यु गराइने तयारी छ । नयाँ कलाकारको खोजी भइरहेको र छिट्टै उनीहरुको नाम सार्वजनिक गरिने बताइएको छ ।

चलचित्र ‘एक्का तीन’को कथा सुमन गजमेरले लेखेका हुन् ।