‘राम नाम सत्य २’को केन्द्रमा टिकटक स्टार आयुष ? अरु को-को कलाकार दोहोरिँदैछन् ?

काठमाडौं । माइकल चन्दको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘राम नाम सत्य’ले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको ध्यान तान्न सफल भएको छ ।

शुक्रबारदेखि देशभरका सिनेमा हलमा रिलिज भएको यस चलचित्रले दर्शकलाई सिनेमाको अन्त्यमा एउटा ‘सरप्राइज’ दिँदै सिक्वेलको औपचारिक घोषणा गरेको छ ।

चलचित्र सकिएपछि पर्दामा देखाइएको ‘पोस्ट-क्रेडिट’ दृश्यले हलमा रहेका दर्शकमाझ निकै कौतुहलता थपेको छ । सिनेमा हेरेर बाहिरिने दर्शकहरूलाई निर्माण टिमले एउटा सरप्राइज दिएका हुन् ।

सिक्वेलको घोषणा हुँदा सबैभन्दा बढी चर्चा चर्चित टिकटक स्टार तथा नव-अभिनेता आयुष सिंह ठकुरीको भएको छ । पहिलो भागमा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी र सुपुष्पा भट्टजस्ता कलाकारहरूको साथमा डेब्यु गरेका आयुषलाई ‘राम नाम सत्य २’ मा भने ‘सेन्टर स्टेज’ (केन्द्र) मा राखिएको छ ।

सिक्वेलमा आयुष मुख्य ‘प्रोटागोनिष्ट’का रूपमा उदाउने प्रस्ट संकेत देखिएको छ । यद्यपि, दोस्रो भागमा विराज भट्ट वा अन्य पुराना कलाकारहरूको भूमिका कस्तो रहनेछ भन्नेबारे निर्माण पक्षले अहिले सस्पेन्स नै राखेको छ ।

चलचित्रको कथा ‘अगुआ’ नामक एक रहस्यमय र विद्रोही पात्रको वरिपरि घुमेको छ । देशमा व्याप्त भ्रष्टाचार, अनियमितता र सत्ताको दुरूपयोग गर्ने शक्तिशाली राजनीतिज्ञ तथा व्यवसायीहरूलाई कानुनले नभई आफ्नै शैलीमा सजाय दिने ‘अगुआ’ को यात्रालाई चित्रण गरिएको छ ।

हरेक हत्यापछि घटनास्थलमा विशेष संकेत छोड्ने ‘अगुआ’ को रहस्य र न्यायको उसको आफ्नै परिभाषा नै चलचित्रको मुख्य आकर्षण हो । एक्सन-ड्रामा जनरामा बनेको यो चलचित्रले सामाजिक बेथितिमाथि कडा प्रहार गरेको छ ।

शनिबार बिहानैदेखि मुख्य अभिनेता विराज भट्ट, आयुष सिंह ठकुरी र निर्देशक माइकल चन्दसहितको निर्माण टोली काठमाडौंका विभिन्न मल्टिप्लेक्स र सिंगल थिएटरहरूमा पुगेर दर्शकसँग साक्षातकार गरिरहेका छन् । दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिँदै आयुष र विराजले चलचित्रलाई दिएको मायाप्रति आभार प्रकट गरेका छन् ।

केही दिनअघि आयोजित एक कार्यक्रममा आयुषले ‘राम नाम सत्य २’ बन्ने सम्भावनाबारे संकेत गरे पनि फिल्मकै अन्त्यमा दृश्यसहित घोषणा हुँदा दर्शक दंग परेका छन् ।

चलचित्रले मल्टिप्लेक्सदेखि सिंगल थिएटरसम्म उत्साहजनक शो पाएको छ । माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा उपेन्द्र शाही र श्वेता विमलीले निर्माण गरेको यो चलचित्रको व्यावसायिक भविष्य आगामी सातामा निर्भर रहनेछ ।

एक्सन ड्रामा रुचाउने दर्शकका लागि ‘राम नाम सत्य’ एउटा विकल्प बनेको छ । प्रारम्भिक प्रतिक्रिया सकारात्मक रहेकाले चलचित्रले लामो रेसको घोडा बन्न ‘वर्ड अफ माउथ’ कुर्नुपर्ने देखाएको छ ।