‘कुम्भ’को ‘स्वर्गकी परी’ गीतमा रोमान्टिक अशोक र सृष्टि

काठमाडौं । आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कुम्भ’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्रको निर्माण पक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ‘स्वर्गकी परी’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

गीतमा अन्जु पन्त र अनुप तिवारीको स्वर रहेको छ भने शब्द रचना रन्धिर श्रेष्ठकै रहेको छ । गीतमा संगीत अनुप तिवारीको रहेको छ ।

भारतको मङ्गलोर सहरको समुन्द्री तट क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोमा नव-नायक अशोक आर्यन र नायिका सृष्टि खड्कालाई रोमान्टिक भावमा देखाइएको छ ।

कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले चलचित्र टेक्निकलरुपमा राम्रो बनेको र एक्सनमा केहि नयाँ प्रयोग गरिएको बताए । साउथ इन्डियन फिल्म ‘कान्तारा’ मा काम गरेका द्वन्द कलाकारहरुलाई काम गरेको उनले बताए ।

नव-नायक अशोक आर्यनले आफ्नो पहिलो चलचित्र भए पनि आफुले सक्दो मेहनत गरेको बताए ।

लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा चलचित्र छायांकनमा सक्रिय श्रेष्ठले यस चलचित्रमार्फत एक्सन–लभ स्टोरी प्रस्तुत गरेका छन् ।

चलचित्रको छायांकन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको हो, जहाँ दक्षिण भारतीय कलाकारहरूको पनि अभिनय रहेको छ ।

ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘कुम्भ’ नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन गरिने जनाइएको छ । चलचित्रमा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको छ ।

एक्सन विधामा निर्माण गरिएको यस चलचित्रमा अशोक आर्यन र सृष्टिका वरिष्ठ कलाकार सुनिल थापा र सुशील पोखरेलका साथै रोहित रुम्बा, अफ्सना थापाको मुख्य भूमिका रहेको छ ।

चलचित्रको छायांकन तथा सम्पादन स्वयं निर्देशक श्रेष्ठले गरेका हुन् । द्वन्द्व निर्देशन संजय थापाले गरेका छन् भने निर्माणमा रन्धिर श्रेष्ठ र राजेश साह संलग्न छन् । चलचित्रका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन् ।