‘मनमाया’ मा प्रकाश दुतराज र प्रशंशा रायमाझी, कुटुम्बको लोकवाद्य सहकार्य
काठमाडौं । लोकगायक प्रकाश दुतराजले नयाँ गीत ‘मनमाया’ सार्वजनिक गरेका छन् । शुक्रबार बेलुका सार्वजनिक गीतमा उनीसँगै मेलिना राईको स्वर छ ।
गीतमा यसपटक प्रकाशले वाद्यवादनमा चर्चित ब्याण्ड कुटुम्बसँग सहकार्य गरेका छन् ।
लोक–फ्युजन शैलीको गीतको भिडिओमा प्रेम कथासँगै नेवाः संस्कृति र ऐतिहासिक सांगीतिक झल्कोलाई समेटिएको छ । गीतको शब्द र संगीत प्रकाश दुतराजकै हो भने गीतको संगीत संयोजन सुदिप सागरले गरेका छन् ।
कुटुम्बसँग गीतमा लोक वाद्यवादनमा सहकार्य गरिएको हो । कुटुम्ब समूहका राजु महर्जन, रूबिन कुमार श्रेष्ठ र किरण महर्जनले वाद्यवादनमा योगदान दिएका छन् ।
भिडियोमा प्रकाश दुतराजका साथमा मोडल प्रशंशा रायमाझीको अभिनय तथा नृत्य हेर्न सकिन्छ ।
गीत सार्वजनिक गर्दै प्रकाशले भनेका छन्– ‘यो गीतमा देखाइएको केही दृश्यहरू, भेषभूषाहरू ऐतिहासिक सम्पदा र सभ्यताका निर्माता तथा परापूर्व कालदेखि नेपाली माटो, कला संस्कृतिहरूमा योगदान पु¥याउँदै आएका नेवाः संस्कृति तथा समुदायसँग आधारित छन् ।’
नवीन घर्ती मगरको निर्देशनमा बनेको ‘मनमाया’ मुकेश नेपालीको कोरियोग्राफी, अनिल के. मानन्धरको छायांकन छ भने सम्पादन निर्देशक नवीनकै हो ।
गायक प्रकाशका पछिल्लो समय एकपछि अर्को गीतहरू लगातार सुपरहिट भइरहेका छन् । ‘मनमाया’ ले पनि सार्वजनिक भएसँगै स्रोता तथा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

