खराब आवाजभन्दै रातको २ बजे स्टुडियोबाट निकालिएकी आशा भोसले, जसले गाइन् १२ हजार गीत

काठमाडौं ।  भारतीय दिग्गज गायिका आशा भोसलेको जादुमयी आवाजले हरेक शैलीका गीतहरूमा जीवन भरेको छ । ९२ वर्षको उमेरसम्म पनि उनको स्वरमा उस्तै मिठास रह्योकरोडौँ श्रोताको मनमा राज गर्यो ।

आफ्नो साङ्गीतिक यात्रामा १२ हजारभन्दा बढी गीत गाएकी आशाका लागि यो सफलताको बाटो कहिल्यै सहज थिएन । उनको जीवन सङ्घर्ष, पीडा र असाधारण साहसको कथा हो ।

प्रसिद्ध थिएटर कलाकार तथा शास्त्रीय गायक दीनानाथ मंगेशकरकी छोरी र स्वरसम्राज्ञी लता मंगेशकरकी बहिनी आशाले केवल ९ वर्षको उमेरमा आफ्ना पितालाई गुमाउनुपर्यो । परिवारलाई साथ दिन उनले दिदी लतासँगै गीत गाउन थालिन् ।

तर, उनको जीवनले नाटकीय मोड तब लियो, जब १६ वर्षको उमेरमा उनले परिवारको इच्छाविपरीत भागेर दिदी लताका ३१ वर्षीय सेक्रेटरी गणपतराव भोसलेसँग विवाह गरिन् । यो निर्णयले लता मंगेशकर यति दुःखी भइन् कि उनले बहिनीसँगको नाता नै तोडिन् ।

विवाहपछि आशाको जीवन झनै कष्टकर बन्यो । श्रीमान् र घरमाबाट हुने दुर्व्यवहार र घरेलु हिंसाले उनी मानसिक र शारीरिक रूपमा विक्षिप्त भइन् । जीवनबाट यति निराश भइन् कि उनले आत्महत्याको प्रयाससमेत गरिन् ।

आफ्नो एक अन्तर्वार्तामा आशाले भनेकी थिइन्, ‘गणपतरावको परिवार निकै रूढिवादी थियो र उनीहरूले एक गायिकालाई बुहारीको रूपमा स्वीकार्न सकेनन् । ममाथि निकै दुर्व्यवहार भयो ।’

गर्भवती अवस्थामा समेत उनीमाथि हातपात हुन्थ्यो र कैयौँपटक अस्पताल भर्ना हुनुपरेको थियो । जब उनी आफ्नो तेस्रो सन्तानलाई जन्म दिँदै थिइन्, उनलाई घरबाट निकालियो ।

आर.डी. बर्मनसँगको प्रेम र दोस्रो विवाह

गणपतरावसँगको ११ वर्षे सम्बन्ध सन् १९६० मा समाप्त भयो । त्यसको केही वर्षपछि उनको जीवनमा प्रसिद्ध सङ्गीतकार आर.डी. बर्मनको प्रवेश भयो । सन् १९६६ मा फिल्म ‘तिसरी मञ्जिल’को गीत रेकर्डिङका क्रममा भेट भएका उनीहरूको मित्रता प्रेममा बदलियो ।

बर्मनले आशालाई विवाहको प्रस्ताव राखे, तर बर्मनकी आमाले यो सम्बन्ध अस्वीकार गरिन् । आशा बर्मनभन्दा ६ वर्ष जेठी र तीन बच्चाकी आमा भएकाले उनले भनिन्, ‘यो बिहे मेरो लाशमाथि मात्र हुनेछ ।’

तर, बुबा एस.डी. बर्मनको निधनपछि आमाको मानसिक अवस्था बिग्रियो र उनलाई सुधार्न बर्मनले सन् १९८० मा आशासँग विवाह गरे ।

‘राति २ बजे स्टुडियोबाट निकालियो’

आशाको विशेषता भनेकै उनले हरेक प्रकारका गीत- चाहे त्यो रोमान्टिक होस्, गजल वा शास्त्रीय सङ्गीत । सबैमा आफूलाई ढालिन् । तर, करियरको सुरुवाती दिनमा उनले अपमान पनि सहनुपर्यो ।

एकपटक किशोर कुमारसँग राज कपुर र नर्गिस अभिनित फिल्म ‘जान पहिचान’को गीत रेकर्ड गर्न जाँदा उनलाई ‘खराब आवाज’ भन्दै स्टुडियोबाट निकालिएको थियो ।

उनले एक अन्तर्वार्तामा त्यो घटना सम्झँदै भनेकी थिइन्, ‘रातको २ बजे हामीलाई स्टुडियोबाट निकालियो । किशोर दा निकै दुःखी हुनुहुन्थ्यो । मैले उहाँलाई सान्त्वना दिँदै भनेँ- दादा, तपाईंको आवाजलाई कसैले रोक्न सक्दैन ।’

आशा भोसलेको आवाज जति सुमधुर छ, उनको हातले बनाएको खाना पनि उत्तिकै स्वादिष्ट छ । उनी भन्छिन्, ‘गायिका नभएको भए म पक्का कुक हुन्थेँ ।’

दिवंगत अभिनेता ऋषि कपुर उनको हातले बनाएको शामी कबाब र कढाई गोश्तका ठूला प्रशंसक थिए ।

आफ्नो यही रुचिलाई उनले व्यवसायमा परिणत गरिन् । दुई दशकअघि दुबईमा ‘आशाज्’ नामबाट रेस्टुरेन्ट खोलेकी उनको व्यवसाय आज कुवेत, अबुधाबी, दोहा र बहराइनजस्ता देशहरूमा फैलिएको छ । उनी आफ्नो रेस्टुरेन्टका शेफहरूलाई आफैँ ६ महिनासम्म तालिम दिन्थिन् ।

९०औं जन्मदिनमा दुबईमा आयोजित एक साङ्गीतिक कार्यक्रममा उनले भनेकी थिइन्, ‘उमेर त केवल एउटा अङ्क हो, मन सधैँ जवान रहन्छ । म आज पनि उभिन्छु, गीत गाउँछु र आफ्ना बच्चाहरूका लागि खाना पकाउँछु ।’ उनै आशाको आज निधन भयो । तर, उनको स्वर भने जुगजुग रहनेछ ।