तीन दिनमै ठूलो संख्यामा शो घट्यो ‘राम नाम सत्य’को, विराज चल्न समीर नै चाहिने हो ?
काठमाडौं । सुरुमा उत्साहजनक शो पाएको सिनेमा ‘राम नाम सत्य’ दुई दिनपछि नै सिनेमा हलमा विस्तारै खुम्चिन थालेको छ । पर्याप्त शो सहित प्रदर्शन सुरु गरेको ‘राम नाम सत्य’ तेस्रो दिनमा पुग्दा नै उलेख्य संख्यामा शो घटेको छ ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा ‘राम नाम सत्य’ले शुक्रबार ५९ शो पाएको थियो । तर आइतबार यो सिनेमा ४२ शो मा खुम्चिएको छ ।
शुक्रबार क्यूएफएक्सले काठमाडौं उपत्यकाको आफ्ना आउटलेटमा २७ शो दिएकोमा आइतबार १८ शो मा खुम्चिएको छ । काठमाडौं बाहिरका सहरमा शुक्रबार ३२ शो उपलब्ध गराएको क्यूएफएक्सले २४ शो दिएको छ ।
यो शो संख्याले ‘राम नाम सत्य’ विस्तारै सीमित शोमा खुम्चिदै गएको प्रस्ट पार्दैछ । तर, सिनेमा तीन चार दिनपछि पनि सकारात्मक वर्ड अफ माउथ पाएको खण्डमा फेरि शो बढाउँदै अघि बढेको इतिहास छ, त्यसैले अहिले नै अब सिनेमाको बक्सअफिस कमजोर भयो भनिहाल्नुपर्ने अवस्था छैन ।
विराज भट्टको ‘१२ गाउँ’को क्रेज यो सिनेमामा पनि देखिनेमा निर्माणपक्ष अझै ढुक्क छ । तर, विराजको ‘१२ गाउँ’को क्रेज ‘राम नाम सत्य’मा देखिएन भने सिनेमा नै कमजोर रहेको अथवा विराज चल्न उनका छोरा समीरसँगै सहकार्य गर्नु पर्ने त होइन भन्ने प्रश्न जन्माउनेछ ।
‘राम नाम सत्य’मा विराज भट्ट, सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय छ ।
माइकल चन्दको निर्देशन रहेको चलचित्रमा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ । कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन् । सह–निर्माता तेजराज चटौत र दमनबहादुर चन्द सह–निर्माताको रुपमा रहेका छन् ।
मानकृष्ण महर्जनको डीओपी रहेको चलचित्रमा श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन छ ।

