प्रसिद्ध भारतीय गायिका आशा भोस्लेलाई हृदयघात
काठमाडौं । प्रसिद्ध भारतीय गायिका आशा भोसलेलाई हृदयघात भएको छ । स्वास्थ्यमा अचानक गम्भीर समस्या देखिएपछि ९२ वर्षीया भोसलेलाई मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा भर्ना गरिएको छ ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाका अनुसार उनलाई शनिबार अस्पताल पुर्याइएको हो । हाल उनी चिकित्सकहरूको विशेष निगरानीमा रहेको र सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको बताइएको छ ।
विगत केही महिनादेखि उनको स्वास्थ्य अवस्था स्थिर नरहेको र उमेरजन्य कारणले उनी अस्वस्थ रहँदै आएकी थिइन् । केही समयअघि देखि नै उनले स्वास्थ्य परीक्षण गराउँदै आएको भए पनि अचानक हृदयघात भएपछि परिवारले उनलाई अस्पताल भर्ना गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
९२ वर्षको उमेरमा पनि सांगीतिक क्षेत्रमा सक्रिय रहँदै आएकी भोसलेको स्वास्थ्यलाई लिएर भारतलगायत विश्वभरका संगीत प्रेमीहरूले चिन्ता व्यक्त गरिरहेका छन् । सामाजिक सञ्जालमार्फत प्रशंसकहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
सन् १९४० को दशकबाट गायन यात्रा सुरु गरेकी आशा भोसलेले ८ दशकभन्दा लामो करियरमा १२ हजारभन्दा बढी गीतहरू गाएकी छन् ।
भारतीय चलचित्र संगीतमा आशा भोसलेको योगदान अतुलनीय मानिन्छ । उनले शास्त्रीय संगीत, गजल, भजन, पपदेखि ‘आइटम नम्बर’ सम्मका हरेक विधामा आफ्नो जादुमयी आवाजको प्रभाव छोडेकी छन् ।
१० वर्षको उमेरदेखि नै गायन यात्रा सुरु गरेकी उनले हिन्दी बाहेक बंगाली, मराठी, गुजराती, तामिल र नेपालीसहित २० भन्दा बढी भाषाहरूमा आफ्नो स्वर दिएकी छन् ।
संगीतकार ओ.पी. नय्यर र आर.डी. बर्मनसँगको आशाको सहकार्यले बलिउड संगीतलाई नयाँ उचाइमा पुर्याएको थियो । ‘दम मारो दम’, ‘चुरा लिया है तुमने जो दिल को’, ‘पिया तू अब तो आजा’ जस्ता गीतहरू आज पनि युवा पुस्तामाझ उत्तिकै लोकप्रिय छन् ।
सन् २०११ मा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ले उनलाई संगीतको इतिहासमा सबैभन्दा बढी गीत रेकर्ड गराउने गायिकाको रूपमा आधिकारिक मान्यता दिएको थियो ।
सांगीतिक क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै भारत सरकारले उनलाई दोस्रो सर्वोच्च नागरिक सम्मान ‘पद्म विभूषण’ र चलचित्र क्षेत्रको सर्वोच्च सम्मान ‘दादा साहेब फाल्के अवार्ड’ बाट सम्मानित गरिसकेको छ । यसका साथै उनले थुप्रै फिल्मफेयर र राष्ट्रिय पुरस्कारहरू जितेकी छन् ।
आशा भोसलेको नेपाली संगीतसँग पनि निकै गहिरो र आत्मीय सम्बन्ध छ । उनले थुप्रै नेपाली गीतहरूमा स्वर दिएकी छन्, जसलाई आज पनि उत्तिकै रुचिपूर्वक सुनिन्छ ।
उनले गाएका ‘किन बढ्दै छ ढुकढुकी मुटुको’, ‘म प्यार बेचिदिन्छु’, ‘तिम्रो मनमा के छ’, ‘मोहनी लाग्ला है’, ‘साउने झरीमा’, ‘झल्को लाग्छ नि’ जस्ता गीतहरू नेपाली संगीतका अमूल्य मानिन्छन् । नेपाली संगीतकार र गायकहरूसँगको सहकार्यमा उनले दिएका यी गीतहरूले उनलाई नेपाली श्रोतामाझ सधैँ लोकप्रिय बनाएको छ ।
उनको स्वास्थ्य अवस्थाबारे अस्पताल वा परिवारका तर्फबाट थप आधिकारिक जानकारी आउन भने बाँकी छ।

