दयाहाङको जन्मदिनमा ‘पेन्सन पट्टा’को पहिलो झलकसँगै प्रदर्शन मिति घोषणा
काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा गरिएको छ ।
निर्माण पक्षले मंगलबार नयाँ वर्षको अवसर तथा मुख्य अभिनेता दयाहाङ राईको जन्मदिन पनि अवसर पारेर पहिलो झलक सार्वजनिक गर्दै आगामी भदौ २६ गतेलाई प्रदर्शन मिति तय गरेको हो ।
यो सिनेमाको शिर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक गुरुङ बताँछन् ।
सार्वजनिक फस्टलुक पोस्टरमा अभिनेता दयाहाङ राईलाई केन्द्रमा राखिएको छ । पोस्टरमा उनलाई एक परिपक्व र केही चिन्तित देखिने मध्यमवर्गीय पुरुषको रूपमा चित्रण गरिएको छ । उनका घुम्रिएका कपाल, बाक्लो जुँगा र काँधमा भिरेको झोलाले उनी कुनै यात्रामा रहेको वा संघर्षशील जीवनको प्रतिनिधित्व गरिरहेको संकेत गर्छ ।
पोस्टरको पृष्ठभूमि ढुङ्गा वा हातले बनाएको कागज जस्तो ‘टेक्सचर’ मा छ, जसले चलचित्रको कथा माटोको कथा वा यथार्थपरक धरातलमा आधारित रहेको बुझाउँछ ।
रिलिज मिति तय गरेसँगै निर्देशक गुरुङ भन्छन्,‘अहिलेसम्म यो मितिमा हामी मात्रै छौं । वितरक र निर्माण टिमसँगको सहल्लाहमा नै प्रदर्शन मिति घोषणा गरेका छौं । राम्रो मिति नै रोजेका छौं । व्यापार पनि राम्रो हुन्छ भन्नेमा विश्वात छौं ।’
चलचित्रमा दयाहाङका अलावा सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई, डिवी गुरुङ र प्रतिक्षा गुरुङ लगायतका कालाकारको अभिनय रहेको छ ।
विश्वास र मायाले यही सिनेमाबाट गुरुङ सिनेमाबाट नेपाली रजतपटमा प्रवेश गरेका हुन् ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रमा निर्देशक गुरुङ कै लगानी रहेको छ । सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् ।
मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहने सिनेमाका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने र प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ हुन् ।
सुशन प्रजापतिले खिचेको चलचित्र सुरेन्द्र पौडलले सम्पादन गरिरहेका छन् ।
भदौ २६ गते नारीहरुको महान पर्व हरितालिका तीजमा देशव्यापी प्रदर्शनमा आउने यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ ।

