‘परालको आगो’को ट्रेलरमा के छ ?
काठमाडौं । वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ ।
चलचित्रका मुख्य पात्र सुहाना थापा र प्रकाश सपूतबीचको घरझगडा ट्रेलरमा देखिन्छ । छिमेकी सौगात मल्ल र सिर्जनालाई एकदमै मिलेको जोडी देखिन्छ । श्रीमतीलाई कुटेपछि खोज्न हिँडेको कथाले दर्शकलाई निकै भावुक बनाउँछ ।
ट्रेलरमार्फत फिल्मको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गरेको छ ।
लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यो चलचित्रमा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गर्ने अनुमान गरिएको छ । आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले कथा प्रतीकात्मक रूपमा निर्माण भएको यस फिल्ममा सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी,ज्याक श्रेष्ठ, सरिता भण्डारी,रेणु न्यौपाने,बाल कलाकार मन्जिला बाँनियालगायतले अभिनय गरेका छन् ।
हरि ॐ सिने मेकर्स प्रालिको निर्माणमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन् । सुशील देवकोटाले लेखेको यस फिल्ममा छायाँकार संकल्प भुजेल हुन् ।
यस फिल्मको वितरण आरआर फिल्मसले गर्दै छ भने ओएसआर ओटीटी राईट लिइसकेको छ ।

