नेपाल ग्रामीण चलचित्र महोत्सवमा ५० चलचित्रबाट १७ छनोट
काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवको पत्रकार सम्मेलन सम्पन्न भएको छ । महोत्सव वैशाख १५ देखि १७ गतेसम्म चन्द्रनगर गाउँपालिकामा आयोजना हुने भएको छ।
पत्रकार सम्मेलनमा महोत्सव अध्यक्ष रघुनाथ सापकोटा, गाउँपालिका अध्यक्ष राजकुमार महतोलगायत सर्लाहीका पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने मूल नारासहित यसअघि लाप्राक, गोसाईकुण्ड, भकुण्डेबेसी र रामेछापमा आयोजना भइसकेको यो महोत्सव पहिलो पटक तराईमा हुन लागेको हो ।
सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार ग्रामीण कथा र मधेशको संस्कृतिमा केन्द्रित फिल्मलाई प्रवर्द्धन गर्न यसपटक सर्लाही जिल्लामा महोत्सव गर्न लागिएको हो ।
महोत्सवका लागि ग्रामीण कथावस्तुमा आधारित फिचर, सर्ट तथा विभिन्न भाषाभाषीका ५० भन्दा बढी फिल्मको आवेदन परेकोमा १७ वटा फिल्म सेलेक्सन गरिएको छ । महोत्सवमा प्रदर्शन हुने फिल्म दर्शकले निःशुल्क हेर्न पाउनेछन् ।
गाउँपालिका अध्यक्ष राज कुमार महतोले यस्ता किसिमको महोतासवले पर्यटन प्रवर्धन गर्नुको साथै स्थानिय ठाउँलाई देश बिदेशमा चिनाउने बताए ।
नेपाली मौलिक फिल्मप्रति दर्शकको आकर्षण बढाउनु, दर्शकमा नियमित रूपमा फिल्म हेर्ने संस्कार विकास गर्नु, ग्रामीण कथामा आधारित फिल्मलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनु, स्थानीय भाषा, कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्नु महोत्सवको उद्देश्य रहेको अध्यक्ष सापकोटाले बताए ।
पाँचौँ संस्करणसम्म आइपुग्दा महोत्सवले आफ्नो प्रतिष्ठा उँचो बनाएको उनको दाबी छ ।

