एक हजार कलाकारबाट छनोट गरिएको थियो ‘पारी बुटोल’का कलाकार
काठमाडौं । चलचित्र ‘पारी बुटोल’को टिजर सार्वजनिक भएसँगै यो अहिले चर्चामा छ । यसमा देखिएको अभिनयको तारिफ भइरहेको छ ।
सुशील सिटौलासँगै अन्य कलाकारको अभिनयको तारिफ भइरहेको छ । सुशील श्रेष्ठ, अनुप बराल, दीया मास्के र किरण श्रेष्ठबाहेक अधिकांश कलाकार नयाँ रहेका छन् ।
निर्देशक गणेशदेव पाण्डेका अनुसार यो सिनेमामा एक हजार कलाकारबाट अडिसन लिएर कलाकार छनोट गरिएको हो । त्यसैले धेरैबाट छनोट गरेर उत्कृष्ट कलाकार लिएकाले पफर्मेन्स पनि सोही अनुसारको देखिएको उनले बताएका छन् ।
गणेश देव पाण्डेको निर्देशनमा बनेको चलचित्रको टिजरमा प्रमुख पात्रहरूलाई उनीहरूको लुक्स र चरित्रमा प्रस्तुत गरिएको छ ।
ग्याङ्स्टर जनरामा निर्माण भएको चलचित्रको टिजरमा कलाकारहरूले अभिनय र महेश पौडेलले छायांकनमा मेहनत गरेको देखिन्छ ।
लेखक तथा निर्देशक पाण्डेका अनुसार ‘पारी बुटोल’ ग्याङ्स्टर सिनेमा मात्र नभइ युवा, उनीहरूको परिवार, जीवनको संघर्ष र सफलता प्राप्त गर्ने होडमा उनीहरूले सामना गर्नुपर्ने चलखेलको कथा हो ।
ल्याक्सी श्रेष्ठले निर्माण गरेको यस चलचित्रमा मनीषा अधिकारी सह–निर्माताको रूपमा रहेकी छन् । चलचित्रमा अनुप बराल, दीया मास्के, कामेश्वर चौरासिया, दिव्य देव, सुवर्ण थापा, निरीक्षा घतानी, तुफान थापा, अविरल प्रताप अधिकारी, किरण श्रेष्ठ, सुयोग तिमल्सिना, सुशील सिटौला, विक्रम श्रेष्ठलगायतका दर्जनौँ कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रमा एनबी महर्जनको एक्सन, लोकेश बज्राचार्यको सम्पादन, मनिता सुन्दासको कला निर्देशन र रोहित बरालको लोकेसन साउन्ड रहेको छ । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको छ । वास्तविक धरातलबाट उठेर निर्माण भएको यस चलचित्रले नेपाली दर्शकमाझनयाँ छाप छोड्ने अपेक्षा गरिएको छ ।


