विनोद पौडेलको अघिल्लो सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ले ४८ करोड कमाउँदा ‘रोल नं १’को व्यापार कस्तो होला ?
काठमाडौं । नेपाली सिनेमा उद्योगमा ऐतिहासिक ग्रसकलेक्सन गर्न सफल चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ दिएका निर्माता विनोद पौडेलको अर्को सिनेमा ‘रोल नं १’ रिलिजको तयारीमा छ ।
केही दिन अगाडि पहिलो झलक सार्वजनिक गरिएको यो सिनेमा सेभेन सिज सिनेमाले निर्माण गरेको हो । कक्षामा प्रथम हुने विद्यार्थी मात्रै गुणी र सफल हो, अरु सबै मुर्ख हुन् भन्ने गलत भाष्यलाई चिर्न यो सिनेमा बनाइएको निर्माण टिमले बताएको छ ।
अहिलेको सरकारले बाल मनोविज्ञानमा नकारात्मक असर पर्ने शैक्षिक प्रणालीमा सुधारको प्रयास गरिरहेका बेला चलचित्र ‘रोल नं १’ले उठाएको विषय पनि करिब यस्तै छ । त्यसैले यो सिनेमाको विषय धेरैले मन पराउनेमा निर्माण टिम विश्वस्थ छ ।
अहिलेको समाजलाई आवश्यक रहेको विषय उठान गरेको र बाल मनोविज्ञानमा केन्द्रित सिनेमा भएकाले बालबालिका र दर्शक दुवैको रोजाइमा चलचित्र पर्ने ‘रोल नं १’को निर्माण पक्षको दाबी छ ।
यसअघि विनोद पौडेलको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसमा ४८ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । उनकै सिनेमा ‘रोल नं १’ले अब कस्तो व्यापार गर्ला भन्ने धेरैमा कौतुलता छ । यही कौतुहलताबीच ‘रोल नं १’ जेठ १५ गते (गणतन्त्र दिवस)बाट नेपालभरका हलमा प्रदर्शन हुँदैछ ।
जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।
यो चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो सिनेमाको डीओपी शिव राम श्रेष्ठ रहेका छन् ।
चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् ।
निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।



