चलचित्र ‘परान’ निर्माता पक्राउ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं चलचित्र ‘परान’का निर्माता शेखर गोल्छा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गोल्छालाई आज काठमाडौंबाट पक्राउ गरेको हो । 

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतको आधारमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

सीआईबीका अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेको छानबिन प्रतिवेदनको आधारमा गोल्छालाई पक्राउ गरिएको हो । उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत बजारमा चलखेल र जालसाजी गरेको आरोप लगाइएको छ ।

हिमालयन रि-इन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ गरिएको ब्युरोले प्रस्ट पारेको छ ।

काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिई गोल्छालाई आज नक्सालबाट पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको ब्युरोले बताएको छ ।

गोल्छाले निर्माण गरेको चलचित्र ‘परान’ व्यावसायिक रूपमा अत्यधिक सफल भएको थियो ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस तथ्यांकअनुसार २०८२ मा प्रदर्शनमा आएका नेपाली चलचित्रमा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्नेमा ‘परान’ छ । यो चलचित्रले बक्सअफिसमा १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।