नेपाली सिनेमाको आश्चर्यजनक यो तीतो सत्य
काठमाडौं । नेपाली सिनेमा उद्योगमा एउटा तीतो सत्य छ, जो आफैँमा आश्चर्यजनक छ । सुन्दा सामान्य सुनिए पनि भोग्नेलाई भने निकै पीडादायी अवस्था हो ।
एक वर्ष लगाएर करोडौं खर्चिएर ५०औँ जनाको मेहनत र पसिनाले बनाएको सिनेमाले ५० लाख पनि कलेक्सन गर्दैन । जबकी एउटा हिरोले नै ५० लाख लिन्छ ।
विपीन कार्की, दयाहाङ राई, प्रदीप खड्का, अनमोल केसी, केदार घिमिरे, समीर भट्टलगायत हिरोले ५० लाखसम्म पारिश्रमिक लिन्छन् । केदार घिमिरेले त ६१ लाख रुपैयाँसम्म लिएको कुरा बाहिर आएको थियो । भलै यसमा उनले पछि खण्डन गरे ।
एउटै चलचित्रबाट ५० लाखभन्दा माथि पारिश्रमिक लिने कलाकारको सिनेमाले चाहिँ कति कमाइ गर्छन् भन्ने प्रश्न मुख्य हो । अनमोलको सिनेमा ‘छड्के २’ ले जम्मा २७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो, जब की उनी ५० लाख रुपैयाँ पारिश्रमिक लिन्छन् ।
भर्खरै रिलिज भएको विपिनको चलचित्र ‘पहाड’ले एक सातामा जम्मा ४६ लाख रुपैयाँ कलेक्सन गरेको छ । दयाहाङको ‘मिरमिरे’ले ३३ लाख, ‘भूठान’ले २२ लाख (यसमा भने हरिवंश आचार्य मुख्य भूमिकामा थिए), दयाहाङको ‘महाभोज’ले ६८ लाख, प्रदीप खड्काको ‘एक्लो’ ४६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेका गरेको थियो । यी त भए केही उदाहरण । ५० लाख रुपैयाँ पारिश्रमिक लिने कलाकारका सिनेमाले आफूले लिएको पारिश्रमिक जति पनि कलेक्सन नगर्ने गरेको यथार्थ सबै सामु अगाडि छ । त्यसो त उनीहरूका सबै सिनेमाले आफूले लिएको पारिश्रमिक जति पनि उठाउँदैनन् भन्ने होइन ।
‘कबड्डी’, ‘जारी’जस्ता धेरै कमाउने सिनेमा पनि दयाहाङ कै हुन् । वर्षकै धेरै कमाउने सिनेमा मध्येको एक ‘जेरी अन टप’ अनमोलकै हो । वर्षकै धेरै कमाउने सिनेमा मध्येको एक ‘उनको स्वीटर’ विपिनकै हो ।
स्टार पावर भएका कलाकार भनेर ठूलो परिमाणमा पारिश्रमिक तिरेपछि इनिसियल व्यापार पनि त्यही अनुसारको हुन्छ भन्ने सामान्यतया स्टारडमको मान्यता हो । तर, स्टारकै कलाकारका सिनेमा रिलिज हुँदा पहिलो दिनको पहिलो शोज नै सुनसान भए भने किन ५० लाख एउटै कलाकारलाई बुझाउने भन्ने प्रश्न महत्वपूर्ण बन्दै गएको छ ।
सिनेमाको बिजनेस कस्तो हुन्छ भन्ने कसैलाई थाहा हुँदैन । त्यसैले यो सिनेमाले यति कमाउँछ भन्ने पहिला नै थाहा हुँदैन । यही कारण बलिउड, हलिउडजस्ता ठूलो सिनेमा उद्योगमा निश्चित रकम लिएर स्टार सिनेमाको कमाइको सेयरमा बस्छन् ।
नेपाली सिनेमा उद्योगले पनि कतै यही मोडलको आवश्यकता संकेत गर्न थालेको त होइन । निर्माता र कलाकारले यो विषयमा गम्भीर रुपमा सोच्नु पर्ने समय आइसकेको छ ।



