अभिनेता रमित ढुंगानालाई मातृशोक

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता, निर्माता तथा निर्देशक रमित ढुंगानालाई मातृशोक परेको छ ।

अभिनेताकी माता ज्ञानुदेवी ढुंगानाको ८८ वर्षको उमेरमा निधन भएको हो ।

८८ वर्षीया ढुंगानाको आइतबार बिहान ५ बजे ललितपुरको पुल्चोकस्थित सुमेरु सिटी हस्पिटलमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दिवंगत ज्ञानुदेवीको स्वास्थ्यमा शनिबार साँझ अचानक समस्या देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई तत्कालै सुमेरु सिटी हस्पिटल भर्ना गरिएको थियो ।

रमित आफ्नी आमासँग निकै भावनात्मक सम्बन्ध भएका अभिनेताका रूपमा चिनिन्छन् । उनले आफ्नो सामाजिक सञ्जालमा प्रायः आमासँगका पलहरू साझा गर्ने गर्थे । कहिले आमालाई घुमाउन लैजाँदाका त कहिले अस्पतालमा उपचारका क्रममा आमाको स्याहार गरिरहेका तस्बिर र भिडियोहरूले उनी आमाप्रति कति समर्पित थिए भन्ने झल्काउँछ ।

ज्ञानुदेवीको आइतबार दिउँसो काठमाडौंस्थित पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिने रमित निकट म्यूजिक भिडियो निर्देशक रोजल थापाले जानकारी दिए ।

मातृशोकमा परेका अभिनेता ढुंगाना र उनको परिवारप्रति चलचित्रकर्मी, प्रशंसक र शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत हार्दिक समवेदना व्यक्त गरिरहेका छन् ।

रमितले पछिल्लो पटक आफ्नै निर्देशनमा चलचित्र ‘नमेटिने घाउ’ बनाएका थिए । एसिड आक्रमणमा परेका पीडितहरूको कथा समेटिएको यो चलचित्रले सामाजिक रूपमा प्रशंसा पाए पनि व्यावसायिक रूपमा भने सोचेजस्तो सफलता प्राप्त गर्न सकेन ।