रेखा थापाले ‘काउकुती’ बनाउने, श्रद्धाले गर्नेछिन् निर्देशन
काठमाडौं । अभिनेत्री रेखा थापाले नयाँ चलचित्र ‘काउकुती’ निर्माण गर्ने भएकी छिन् । रेखाले मंगलबार औपचारिक घोषणा गरेकी हुन् । रेखाको यो फिल्म आफ्नो ब्यानरको ८ औँ फिल्मको रूपमा रहनेछ ।
फिल्मलाई श्रद्धा प्रसाईंले निर्देशन गर्दैछिन् । श्रद्धा पछिल्लो समयको कमेडी शो ‘कमेडी दरबार’की निर्देशक हुन् ।
रेखाको मुख्य अभिनय रहने चलचित्रमा मुख्य अभिनेतामा नवअभिनेतालाई भित्राउने तयारी गरिएको छ । चलचित्रमा विक्की अग्रवाल र विनेश राईको कथा छ । पटकथा विनेश स्वयंले तयार पारेका छन् ।
नवराज श्रेष्ठ र बलराम शाही ठकुरीको लगानी रहनेछ । बलराम रेखाका श्रीमान् समेत हुन् ।
आगामी असोजमा छायांकनको तयारी गरिएको यस चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहनेछ । एउटा गीत चर्चित र्यापर लिल झोला (आकाश क्षेत्री)ले गाउनेछन् ।




