चलचित्र ‘लालीबजार’ वैशाख २५ गतेबाट प्रदर्शन, एकै दिन आउने भए तीनवटा चलचित्र

काठमाडौं । चलचित्र ‘लालीबजार’ वैशाख २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको बताएसँगै प्रदर्शनको बाटो खुलेपछि यो सिनेमा यही शुक्रबारबाट प्रदर्शनमा आउने भएको हो ।

वैशाख १८ गते तोकिएको प्रदर्शन अदालतमा रिट परेकै कारण रोकिएको थियो । बादी समुदायको विषयमा बनेको यो चलचित्रलाई यम थापाले निर्देशन गरेका छन् । कथा पनि उनी स्वयंले लेखेका छन् ।

प्रदर्शनको बाटो खुलेलगत्तै रिलिज हुँदा एकै दिन तीनवटा चलचित्र प्रदर्शनमा आउने भएका छन् । ‘मालतीको मंगले’ र ‘गुरुआमा’ पनि शुक्रबार नै प्रलर्शनमा आउँदैछन् ।

चलचित्र ‘मालती मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गरेका छन् । निर्देशक पाण्डेयको कथा रहेको चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका हुन् । चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरीलगायत कलाकारको अभिनय छ ।

‘गुरुआमा’लाई प्रेम सोनी सुनारले निर्देशन गरेका छन् । मिथिला शर्मा र बुद्धि तामाङ यो सिनेमाको मुख्य भूमिकामा छन् ।