पोखराको हंशध्वनि थिएटरमा सात दिने अभिनय प्रशिक्षण कार्यशाला

पोखरा । गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) को आयोजनामा तथा नेपाल सरकार, चलचित्र विकास बोर्डको सहकार्यमा पोखरामा सञ्चालित सात दिने अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ ।

वैशाख १६ गतेदेखि सुरु भएको कार्यशाला वैशाख २२ गतेसम्म पोखराको नदिपुर–३ स्थित हंशध्वनि थिएटरमा सञ्चालन भएको हो । कार्यशालामा रंगकर्मी तथा अभिनय प्रशिक्षक अनुप बरालले प्रशिक्षण दिएका थिए ।

कार्यशालामा गुरुङ चलचित्र क्षेत्रका कलाकार, नयाँ पुस्ताका प्रशिक्षार्थी तथा चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो । अभिनय कला, संवाद अभिव्यक्ति, पात्र निर्माण, रंगमञ्चीय अनुशासन, प्रस्तुति शैली र क्यामेराअगाडि कलाकारले अपनाउनुपर्ने सीपहरूबारे व्यावहारिक प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।

समापन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीसहित वरिष्ठ कलाकार माओत्से गुरुंग, जिफानका सल्लाहकार कृष्ण कुमार गुरुंग, चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष सन्तोष वस्याल उपस्थित थिए ।

अध्यक्ष डिसीले स्थानीय भाषा, संस्कृति र समुदायमा आधारित चलचित्रको विकासका लागि दक्ष जनशक्ति उत्पादन अपरिहार्य रहेको बताए । गुरुङ चलचित्रले नेपाली चलचित्र क्षेत्रमा मौलिकता, पहिचान र सांस्कृतिक विविधताको महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनले यस्ता प्रशिक्षण कार्यक्रमले कलाकारको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।