बुवा निर्देशक, आमा सम्पादक, जेठी छोरी ‘प्रोडक्सन डिजाइनर’, कान्छी छोरी नायिका, सिनेमा फ्लप

काठमाडौं । तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र ‘पहाड’ अपेक्षित सफल हुन सकेन । यो वर्षको पहिलो दिन वैशाख १ गते रिलिज भएको चलचित्र ‘पहाड’ अपेक्षित सफल भएन ।

भेट्रान निर्देशक तुलसी घिमिरे आठ वर्षपछि निर्देशनमा फर्किएका थिए, त्यसैले यो चलचित्र सफल हुन्छ भन्ने धेरैको विश्वास थियो । चलचित्रमा बिकाउने अनुहार पनि धेरै थिए ।

चलचित्रमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायत कलाकारले अभिनय गरेका थिए । यति मात्रै पनि होइन, यो चलचित्रमा मुख्य भूमिकामा पञ्चमी घिमिरे थिइन् । उनी निर्देशक तुलसी घिमिरेकी कान्छी छोरी हुन् ।

पञ्चमीको यो पहिलो सिनेमा थियो । यो सिनेमामार्फत उनले अभिनयमा डेब्यू गरेकी थिइन् । अथवा बुवा निर्देशक, छोरी हिरोइन । यो चलचित्रको कथा पनि तुलसी घिमिरे आफैँले लेखेका थिए ।

चलचित्र ‘पहाड’को प्राविधिक समूहमा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले ‘प्रोडक्सन डिजाइनर’को जिम्मेवारी सम्हालेकी थिइन् । निर्देशक घिमिरेकी श्रीमती भारती घिमिरे सिनेमाको क्रिएटिभ निर्माता, गायिका तथा सम्पादक रहेकी थिइन् ।

यो चलचित्रमा मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको थियो । तर, यो सिनेमाले बक्स अफिसमा एक करोडको छेउछाउ पनि पुग्न सकेन ।