बक्सअफिसमा ‘लालीबजार’को वर्चस्व, ‘मालती मंगले’ र ‘गुरूआमा’ सुस्त

काठमाडौं । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएका तीन नेपाली चलचित्रको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अभिनेत्री स्वस्तिमा खड्का स्टारर चलचित्र ‘लालीबजार’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको देखिएको छ भने अन्य दुई चलचित्र ‘मालती मंगले’ र ‘गुरूआमा’ को व्यापार तुलनात्मक रूपमा कमजोर देखिएको छ ।

यम थापाको निर्देशनमा बनेको चलचित्र ‘लालीबजार’ले रिलिजको ९ दिनमा सानदार कमाइ गरेको छ । बोर्डको रिपोर्टअनुसार जेठ २ गतेसम्म यस फिल्मले ३ करोड ४२ लाख ६१ हजार ७७९ रूपैयाँ ग्रस कलेक्सन गरेको छ । यो अवधिभर देशभरका विभिन्न हलहरूबाट १ लाख १४ हजार ४६८ जना दर्शकले फिल्म हेरेका छन् ।

प्रदर्शनअघि केही विवाद र बहिष्कारको सामना गरे पनि फिल्मको बलियो ‘वर्ड अफ माउथ’ (दर्शकको सकारात्मक प्रतिक्रिया) का कारण दोस्रो सातामा व्यापार झनै सुध्रिएको छ ।

पहिलो साताभन्दा दोस्रो साताको शनिबार र आइतबार चलचित्रको शो संख्या र दर्शकको चाप बढेको देखिएको छ ।

वादी समुदायका महिलाहरूले भोग्नुपर्ने सामाजिक संघर्ष र पीडाको कथामा आधारित यस चलचित्रमा स्वस्तिमा खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ लगायतको अभिनय छ ।

‘मालती मंगले’ र ‘गुरूआमा’को व्यापारिक अवस्था

अभिनेत्री वर्षा राउत र अभिनेता विजय बरालको मुख्य भूमिका रहेको चलचित्र ‘मालती मंगले’ ले सोही अवधिमा औसत व्यापार गरेको छ ।

चलचित्रले ४४ लाख ७८ हजार ६०८ रूपैयाँ ग्रस कमाइ गर्दा कुल १३ हजार ८९० वटा टिकट बिक्री भएका छन् ।

गायक रामकृष्ण ढकालको लगानी रहेको यो चलचित्रले पनि प्रदर्शनअगावै केही हदसम्म बहिष्कारको चपेटामा गर्दै आएको छ ।

त्यस्तै, शैक्षिक कथावस्तुमा आधारित चलचित्र ‘गुरूआमा’ बक्सअफिसमा निकै सुस्त देखिएको छ ।

बोर्डका अनुसार यस चलचित्रले २८ लाख ४४ हजार ४५१ रूपैयाँ ग्रस कलेक्सन गरेको छ । ८ हजार ९७४ जना दर्शकले मात्र हेरेको यस चलचित्रमा मिथिला शर्माको मुख्य भूमिका रहेको छ ।

चलचित्रको नामग्रस कलेक्सन (रू.)कुल दर्शक (टिकट संख्या)
लालीबजार३,४२,६१,७७९१,१४,४६८
मालती मंगले४४,७८,६०८१३,८९०
गुरूआमा२८,४४,४५१८,९७४