नेपाली भाषा संस्कृति सिकाउन आयो पहिलो पाइला, ब्राण्ड एम्बास्डरमा केकी
काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली बालबालिकालाई लक्षित गरि सहज र आधुनिक तरिकाले मौलिक नेपाली भाषामा अभ्यस्त बनाउने उद्देश्यसहित विश्वस्तरीय पाठ्यक्रमसहितको डिजिटल स्कुल ‘पहिलो पाइला’ एप सञ्चालनमा आएको छ । उक्त डिजिटल स्कुलको सद्भावना दुत् (ब्रान्ड एम्बास्डर)मा अभिनेत्री केकी अधिकारी अनुबन्ध भएकी छिन् ।
राजधानीमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ शिक्षाविद् सुशिलभक्त माथेमा, वरिष्ठ गायिका लोचन भट्टराई, वरिष्ठ कवि तथा गीतकार आनन्द अधिकारी र अभिनेत्री तथा ब्राण्ड एम्बास्डर केकी अधिकारीले संयुक्त रूपमा उक्त एपको शुभारम्भ गरे ।
विदेशी भूमिमा जन्मे हुर्केका बालबालिकालाई नेपाली भाषा र संस्कृतिसँग जोड्न यो डिजिटल स्कुल प्रभावकारी बन्ने अपेक्षा आयोजकले लिएको छ ।
कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले पहिलो पाइला एपको सुभारम्भलाई युग परिवर्तनको क्षण भन्दै नेपाली भाषालाई संवर्धन र प्रवर्धन गर्न यो एपले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । विदेशी भूमिमा रहने धेरै नेपाली र बालबालिकामा नेपाली मौलिक संस्कृति टाढिँदै गएको अवस्थामा यो अभियानले नेपाली कला, संस्कृति र मौलिक पहिचानसँग जोड्नको लागि सहजिकरण गर्ने विश्वास अधिकारीको छ ।
नेपाली भाषालाई विश्वभर प्रवर्धन गर्ने उद्देश्यका लागि पहिलो पाइला एप डिजिटल स्कुलको निर्माण गरिएको आयोजक संस्था पहिलो पाइला एजुकेसनले बताएको छ । पहिलो पाइला सञ्चालक मधु न्यौपानेले डिजिटल स्कुलमार्फत बालबालिकाहरुले रोजेको पाठ्यक्रम अनुसार आफ्नो भाषा र संस्कृती सिक्न सक्ने विश्वास व्यक्त गरे ।




