‘एलिफेन्ट्स इन द फग’ को उपलब्धिमा सरकारले भन्यो- राष्ट्रकै गौरवको विषय

काठमाडौं । विश्वकै सर्वाधिक प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’ मा नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ले ऐतिहासिक उपस्थिति जनाएको छ ।

फेस्टिभलको मुख्य प्रतिस्पर्धात्मक विधा मानिने ‘अन सर्टेन रिगार्ड’मा छनोट भएको यस चलचित्रको बुधबार फ्रान्सको कान्समा वर्ल्ड प्रिमियर गरिएको छ ।

नेपाली चलचित्रले अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त गरेको यो दुर्लभ र ठूलो उपलब्धिलाई लिएर नेपाल सरकारले औपचारिक रूपमा खुसी व्यक्त गर्दै निर्माण टोलीलाई बधाई दिएको छ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै चलचित्रको सफलताले समग्र नेपाली चलचित्र उद्योगकै शिर उँचो बनाएको उल्लेख गरेका छन् ।

मन्त्री तिमिल्सिनाद्वारा जारी सन्देशमा भनिएको छ, “यो उपलब्धिले नेपाली चलचित्र क्षेत्रको क्षमता, सिर्जनशीलता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकतामा भएको उल्लेखनीय प्रगतिलाई विश्वमाझ उजागर गरेको छ । नेपाली कथा, मौलिक संस्कृति र सामाजिक यथार्थलाई विश्वकै प्रतिष्ठित चलचित्र मञ्चमा प्रस्तुत गर्नु हाम्रो लागि राष्ट्रकै गौरवको विषय हो ।”

सरकारले चलचित्रका निर्देशक तथा लेखक अविनाश विक्रम शाह, निर्माता अनुप पौडेल, मुख्य कलाकार पुष्पा थिङ लामा लगायत सम्पूर्ण निर्माण टोलीलाई विशेष धन्यवाद दिएको छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न र नेपाली मौलिकतालाई विश्वव्यापीकरण गर्न यो चलचित्रले महत्त्वपूर्ण इँटा थपेको सरकारको ठम्याइ छ ।

कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधालाई निकै महत्त्वपूर्ण मानिन्छ । यस विधामा विश्वभरका ती चलचित्रहरू छनोट गरिन्छ, जसले मौलिक कथा वाचन शैली र नवीन दृष्टिकोण प्रस्तुत गर्दछन् । यसअघि पनि निर्देशक शाहका सिर्जनाहरूले अन्तर्राष्ट्रिय मञ्चमा चर्चा पाए पनि मुख्य विधामा फिचर फिल्मको यो उपस्थिति निकै शक्तिशाली मानिएको छ ।

बधाई सन्देशको अन्त्यमा सञ्चारमन्त्रीले आगामी दिनमा नेपाली चलचित्रको विकासका लागि सरकारले ठोस कदम चाल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सन्देशमा भनिएको छ, “आगामी दिनहरूमा यस्ता गुणस्तरीय, सिर्जनात्मक र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम चलचित्रहरूको प्रवर्द्धन र विकासका लागि नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गर्न चाहन्छु ।”

‘एलिफेन्ट्स इन द फग’ को यो सफलताले अन्तर्राष्ट्रिय बजारमा नेपाली सिनेमाको माग र साख बढ्ने विश्वास लिइएको छ । यसअघि पनि केही नेपाली चलचित्रहरूले कान्समा स्थान पाएका भए तापनि ‘अन सर्टेन रिगार्ड’ जस्तो प्रतिष्ठित विधामा पर्नुले नेपाली फिल्ममेकरहरूको मनोबल उच्च बनाएको छ ।

२०८१ सालमा ६ लाख नर्वेजियन क्रोनर (झन्डै ७६ लाख रुपैयाँ)को ‘सरफन्ड ग्रान्ट’ जितेको यो चलचित्रको मुख्य भूमिकामा पुष्पा थिङ, दिपीका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, जोएल गुरुङ, उमेश पाण्डेलगायत कलाकार छन् । गौरी मल्ल, माओत्से गुरुङ, शान्ति गिरी, संजय गुप्ता दुरा, महिमा नवबाग, आशान्त शर्मा, अनिल कुर्मी, आकांक्षा कार्कीलगायतको पनि अभिनय रहेको छ ।