‘काजी’ र ‘मितज्यू’ आजबाट हलमा
काठमाडौं । चलचित्र ‘काजी’ र ‘मितज्यू’ आजबाट प्रदर्शनमा आएका छन् ।
काजी र कजिनीको प्रेम कथामा बनेका फिल्म ‘काजी’का निर्देशक लक्ष्मण रिजाल हुन् । फिल्ममा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन् ।
उनीहरूसँगै फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याललगायत कलाकारले अभिनय गरेका छन् ।
लेखक प्रदीप भारद्धाजको कथा रहेको फिल्मका निर्मातामा नेहान रिजाल, विकाशराज जोशी रहेका छन्। रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।
चलचित्र ‘मितज्यू’ जनक घर्ती मगरद्वारा निर्मित तथा अनिल बुढामगर निर्देशित चलचित्र हो ।
ग्रामीण परिवेशको सामाजिक कथावस्तुमा आधारित यस चलचित्रमा अभिनेता द्वय दयाहाङ राई र सौगात मल्लको मुख्य अभिनय रहेको छ भने चर्चित डान्सर तेरिया फौज मगरले यसै चलचित्रबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी छिन् ।
चलचित्रमा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा लगायतका कलाकारहरूको समेत सशक्त अभिनय छ ।
शिशिर बिशंखेको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।


