सुरक्षा भट्टराईलाई ‘स्व. दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’
काठमाडौं । चलचित्र पत्रकारिताको क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि सक्रिय पत्रकार सुरक्षा भट्टराईलाई यस वर्षको ‘स्व. दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ प्रदान गरिएको छ ।
चलचित्र पत्रकार संघ नेपालले आफ्नो २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको विशेष अवसर पारेर भट्टराईलाई नगद ५१ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरेको हो ।
पाल्पा जिल्लाको मदनपोखरा–दमकडामा जन्मिएकी भट्टराईलाई सञ्चार क्षेत्रप्रतिको गहिरो लगाव, निरन्तरको मेहनत र चलचित्र पत्रकारितामा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै संघले पुरस्कृत गरेको हो ।
भट्टराई ‘स्व. दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ पाउने पहिलो पत्रकार हुन् । चलचित्र पत्रकार तथा संघका पूर्वअध्यक्ष सिटौलाको केही महिना अगाडि मृत्यु भएपछि उनको सम्झनामा उक्त पुरस्कार स्थापना गरिएको थियो । उक्त पहिलो पुरस्कार भट्टराईले प्राप्त गरेकी हुन् ।
२०६९ सालमा एसएलसी उत्तीर्ण गरेलगत्तै उनको सञ्चार यात्रा सुरु भएको थियो । पाल्पाकै ‘श्रीनगर एफएम’बाट रेडियो प्रस्तोताका रूपमा चार वर्षसम्म स्थानीयस्तरमा पहिचान बनाएकी उनले सोही समयमा पाल्पाकै ‘करूवा टेलिभिजन’मा समेत काम गरेकी थिइन् ।
थप अवसर र व्यावसायिक वृद्धिको खोजीमा २०७३ सालमा काठमाडौं प्रवेश गरेकी भट्टराईले ‘डीसी नेपाल’बाट राजधानीको पत्रकारिता यात्रा सुरु गरेकी थिइन् ।
साथै, अन्य केही सञ्चारमाध्यमहरूमा रहेर चलचित्र बिटमा काम गरेकी भट्टराई हाल आफ्नै नेतृत्वमा युट्युब च्यानल र ‘सिने पत्रिका’ नामको अनलाइन पोर्टल सञ्चालनमा गर्दै आइरहेकी छन् ।
पत्रकारितासँगै चलचित्रको मिडिया कोअर्डिनेसन (प्रचार–प्रसार व्यवस्थापन)मा समेत सक्रिय भट्टराई पछिल्लो समयको सर्वाधिक सफल चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’लगायत थुप्रै चलचित्रहरूको मिडिया व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेकी छन् ।
व्यावसायिक पत्रकारिताका अलावा चलचित्र पत्रकार संघ नेपालमा तीन वर्ष सदस्यका रूपमा काम गरेकी उनले एक कार्यकालका ‘महिला उपाध्यक्ष’ पदको जिम्मेवारी सम्हाली सकेकी छन् ।




