कान्स फिल्म फेस्टिभलमा नेपाल चलचित्रको ऐतिहासिक सफलता, ‘एलिफेन्ट्स इन द फग’लाई ‘जुरी प्राइज’

काठमाडौं । विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’मा नेपाली सिनेमाले ऐतिहासिक सफलता प्राप्त गरेको छ ।

नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ले फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ जितेको हो ।

अविनाशविक्रम शाह निर्देशित यो चलचित्र कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको थियो । गत बिहीबार भएको वर्ल्ड प्रिमियरपछि नै यो चलचित्र चर्चाको केन्द्रमा थियो ।

फेस्टिभलको मुख्य विधामा अस्ट्रियाली निर्देशक सान्द्रा वोल्नरको फिल्म ‘एभ्रिटाइम’ले ‘अन सर्टेन रिगार्ड प्राइज’ जित्यो । ‘स्पेशल जुरी प्राइज’ फ्रान्सेली निर्देशक लुइस क्लिसीको फिल्म ‘आइरन ब्वाय’लाई प्रदान गरियो ।

उत्कृष्ट अभिनेतातर्फ ‘कंगो ब्वाय’का अभिनेता ब्राड्ली फियोमोना डेम्बेआसेट पुरस्कृत भए । उक्त चलचित्रका निर्देशक राफिकी फारियाला हुन् ।

उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘सिएम्प्रे सोय तु एनिमल मातेर्नो’का कलाकार मरिना डे टाभिरा, डानिएला मारिन नाभारो र मारिएन्जेल भिलेगासलाई संयुक्त रूपमा प्रदान गरियो । फिल्मको निर्देशन भालेन्टिना माउरेलले गरेकी हुन् ।

यो विधामा विश्वभरका फरक विषयवस्तु र शैलीका सिनेमालाई स्थान दिइन्छ ।

अवार्ड घोषणा भएपछि चलचित्रका लेखक तथा निर्देशक अविनाश विक्रम शाह नेपालको राष्ट्रिय झण्डा ओढेर अवार्ड ग्रहण गर्न मञ्चमा उक्लिएका थिए । विदेशी भूमिमा नेपाली झण्डा फहराउँदै अवार्ड थापेको उक्त दृश्य यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसलाई नेपाली सिने प्रेमीहरूले गौरवको क्षणका रूपमा चित्रण गरिरहेका छन् ।

जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस चलचित्रमा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्की लगायतको अभिनय रहेको छ ।

चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।

अविनाशविक्रम निर्देशित छोटो फिल्म ‘लोरी’ले यसअघि पनि कान्समा स्पेसल मेन्सन पुरस्कार जितेको थियो ।

कान्सको समापन समारोहमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल पनि उपस्थित थिइन् । उनले ‘एलिफेन्ट्स इन द फग’ले अवार्ड जितेको एक भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै लेखेकी छन्, ‘कान्स फिल्म फेस्टिभलमा नेपालले भर्खरै इतिहास रचेको छ । यो केवल एक फिल्मको जित होइन, नेपाली फिल्मका लागि ऐतिहासिक क्षण हो ।’