यो वर्ष धमाधम अभिनेत्री हिरो भएका सिनेमा रिलिज, लक्की भने स्वस्तिमा मात्रै
काठमाडौं । यो वर्षको सुरुमै नायिकाहरूको बोलाबाला देखिएको छ । वर्षमा एकाधमात्रै अभिनेत्रीहरू मुख्य भूमिकामा देखिने गरेकोमा यो वर्षको सुरुवातले फरक संकेत दिइरहेको छ ।
वर्षमा दुई महिना बित्न नपाउँदै महिला कलाकारले लिड गरेका सिनेमाको संख्या थुप्रै भइसकेको छ । चलचित्र ‘लालीबजार’ बक्सअफिसमा सफल देखिएको छ । यो चलचित्रको मुख्य भूमिकामा स्वस्तिमा खड्का छिन् । यो महिलाप्रधान सिनेमा हो ।
यो मात्रै होइन, गएको हप्ता एकै दिन रिलिज भएका चलचित्र ‘लाइफ ड्यामेज’ र ‘एक मुठ्ठी बादल’मा पनि मुख्य भूमिकामा अभिनेत्री नै थिए । ‘लाइफ ड्यामेज’मा सुरक्षा पन्त र ‘एक मुठ्ठी बादल’मा आँचल शर्मा मुख्य भूमिकामा थिए ।
‘लाइफ ड्यामेज’ र ‘एक मुठ्ठी बादल’ भन्दा अगाडि रिलिज भएको चलचित्र ‘गुरु आमा’ पनि अभिनेत्री कै काँधमा थियो । यो चलचित्रको मुख्य भूमिकामा मिथिला शर्मा थिइन् ।
वर्षमा अभिनेत्रीले लिड गरेका सिनेमा एकाध मात्रै हुने गरेको विगत थियो । तर, यो वर्ष जेठको दोस्रो सातासम्म मै ‘लाइफ ड्यामेज’, ‘एक मुठ्ठी बादल’, ‘लालीबजार’ र ‘गुरुआमा’ प्रदर्शनमा आइसकेका छन् ।
तर, दुखद् पक्ष चाहिँ यी सिनेमाको बक्सअफिस हो । चारवटा महिलाप्रधान चलचित्र रिलिज हुँदा बक्सअफिसमा सफल भने एउटा मात्रै देखिएको छ । ‘लालीबजार’बाहेकका ‘लाइफ ड्यामेज’, ‘एक मुठ्ठी बादल’ र ‘गुरुआमा’ बक्सअफिसमा कमजोर देखिएका छन् ।
हुन त एकाधबाहेक अधिकांश चलचित्र पुरुष अभिनेता मुख्य भूमिकामा हुन् वा महिला घाटामा नै जाने गरेको इतिहास छ । तर, यो तथ्यांक अथवा चारवटा सिनेमामा तीनवटाको बक्सअफिस कमजोर हुँदा अभिनेत्रीहरूले सिनेमा एक्लै धान्न सक्दैनन् भनेर टिप्पणी गर्नेहरूलाई बल दिएको छ ।
स्वस्तिमा खड्का भने यसमा लक्की सावित हुँदै आएकी छन् । उनले लिड गरेका सबै सिनेमा कि त बक्सअफिसमा सफल छन् अथवा समीक्षात्मक रूपमा बलिया छन् । ‘लालीबजार’ र ‘बेहुली फ्रम मेघौली’ बक्सअफिसमा सफल भए । बाँकी ‘बुलबुल’ र ‘चिसो मान्छे’ले राम्रो व्यापार नगरे पनि समीक्षा राम्रो पाए, जसले गर्दा उनको सिने करियरलाई उकास्ने काम गरे ।




