भीडलाई उत्तेजित बनाएकाे भन्दै निश्चल बस्नेतलाई अनुसन्धान गर्न सिफारिस
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्देशक तथा कलाकार निश्चल बस्नेतमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।
२०८२ भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षति, तथा सामाजिक सञ्जालमार्फत प्रदर्शनकारीलाई उत्तेजित बनाएको विषयमा उनीमाथि छानबिन गर्न आयोगले सरकारलाई सिफारिस गरेको हो ।
आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठन गरिएको छानबिन समितिको प्रतिवेदनका आधारमा उनिमाथि जेनजी आन्दोलनका क्रममा मानव अधिकार उल्लंघनसम्बन्धी घटनामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरिएको छ ।
आयोगको प्रतिवेदन अनुसार बस्नेतले सामाजिक सञ्जालमा दिएका अभिव्यक्ति र गरेका गतिविधिहरूले प्रदर्शनकारीहरूलाई आक्रोशित र उत्तेजित बनाएको देखिएको छ ।
प्रतिवेदनमा भनिएको छ, “उनको अभिव्यक्तिबाट प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे /नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए वा नभएको विषयमा सूक्ष्म अनुसन्धान गरिनुपर्छ ।”
आयोगले उनलाई अनुसन्धानको सूचीमा राख्दै यदि दोषी देखिएमा प्रचलित कानुन बमोजिम कारबाही गर्न समेत सरकारलाई निर्देश गरेको छ ।
अनुसन्धानको घेरामा निश्चल मात्र छैनन् । आयोगले बुधबार (जेठ १३) सार्वजनिक गरेको उक्त आन्दोलन सम्बन्धी विस्तृत प्रतिवेदनमा आन्दोलनका क्रममा हिंसा भड्काउन र सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याउन विभिन्न प्रभावशाली व्यक्तिहरूको भूमिका रहेको उल्लेख छ ।
आयोगले आन्दोलनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने, उत्तेजना फैलाउने र सामाजिक सद्भाव बिगार्न खोज्ने झन्डै एक दर्जन बढी चर्चित व्यक्तिहरूको नाम प्रतिवेदनमा उल्लेख गरेको छ ।
२०८२ भदौमा भएको उक्त आन्दोलनका क्रममा राजधानी लगायत देशका विभिन्न भागमा ठूलो हिंसात्मक झडप भएको थियो । आयोगको तथ्याङ्क अनुसार सो क्रममा १९ जनाको मृत्यु भएको थियो भने अर्बौँको भौतिक क्षति भएको थियो ।
आयोगले आफ्नो प्रतिवेदनमा अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैले पनि हिंसा भड्काउन र सार्वजनिक सम्पत्ति तोडफोड गर्न दुरुत्साहन गर्न नहुने उल्लेख गरेको छ ।



