एक दर्जन सिनेमा प्रदर्शन हुँदा ‘लालीबजार’ बन्यो वर्षकै सर्वाधिक कमाउने चलचित्र, ७ वटाको अवस्था के छ ?
काठमाडौं । नयाँ वर्ष २०८३ को सुरुवातसँगै नेपाली चलचित्र बजारमा देखिएको उच्च प्रतिस्पर्धाकाबीच अभिनेत्री स्वस्तिमा खड्का स्टारर चलचित्र ‘लालीबजार’ ले आफ्नो बर्चस्व कायम राखेको छ । वैशाख १ गतेदेखि हालसम्म करिब एक दर्जन चलचित्र प्रदर्शनमा आइसकेकोमा ‘लालीबजार’ यस वर्षकै सर्वाधिक कमाउने चलचित्र बन्न सफल भएको छ ।
हाल देशभरका सिनेमा घरहरूमा ७ वटा नेपाली चलचित्रहरू प्रदर्शन भइरहेका छन् । जसमा ‘लालीबजार’ सँगै ‘मितज्यू’, ‘काजी’, ‘परालको आगो’, ‘लाइफ ड्यामेज’, ‘रोल नं १’ र ‘कुम्भ’ रहेका छन् । यी मध्ये ‘मितज्यू’ र ‘काजी’ अघिल्लो शुक्रबार अर्थात् जेठ ८ बाट रिलिज भएका हुन् भने ‘रोल नं १’ र ‘कुम्भ’ गत शुक्रबारबाट प्रदर्शनमा आएका हुन् ।
वैशाख ११ गतेबाट प्रदर्शनमा आएको लक्ष्मण सुनार निर्देशित चलचित्र ‘परालको आगो’ ले पनि लामो समयदेखि हलमा आफ्नो उपस्थिति जनाइ रहेको छ । यो सिनेमा मोफसलको हल सिने रोयलमा मात्र प्रदर्शनरत छ ।
प्रदर्शनरत नेपाली चलचित्रहरूको चलचित्र विकास बोर्डको बक्स अफिस प्रणाली (सिनेपा) का अनुसार जेठ ९ गतेसम्म ‘लालीबजार’ ले ५ करोड ७६ लाख ३९ हजार ४७२ रुपैयाँ ग्रस कलेक्सन गरेको रिपोर्ट सार्वजनिक गरेको थियो । निर्माण पक्षले भने चलचित्रले ७ करोड माथिको व्यापार गरिसकेको दाबी गरेका छन् ।
शनिबार फिल्मका निर्माताले आधिकारिक रूपमा कमाइको विवरण सार्वजनिक गर्दै चलचित्रले ७ करोड ५३ लाख माथि व्यापार गरेको जानकारी दिएका हुन् । यो कमाइ सँगै ‘लालीबजार’ यस वर्षको सबैभन्दा बढी कमाइ गर्ने नेपाली सिनेमा बनेको छ ।
गत वैशाख २५ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको यस चलचित्रले सुरुवाती दिनदेखि नै दर्शकको राम्रो साथ पाएको थियो । पछिल्लो समय नेपाली फिल्मको बजार सुस्ताइरहेका बेला यस चलचित्रको सफलताले चलचित्रकर्मी र हल सञ्चालकहरूमा नयाँ उत्साह थपेको छ । मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म चलचित्रको ‘अकुपेन्सी’ अझै पनि सन्तोषजनक देखिएको निर्माण टिमको भनाइ छ ।
यस वर्ष रिलिज भएका अन्य चलचित्रको तुलनामा ‘लालीबजार’ को व्यापार निकै बलियो देखिएको हो । यस बीचमा केही चलचित्रहरूले भने बक्स अफिसमा अपेक्षाकृत जादु देखाउन सकेनन् र हलबाट उत्रिसकेका छन् । गत वैशाख १ गते प्रदर्शनमा आएको तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ले खासै राम्रो कमाइ गर्न सकेन । यसले घरेलु बक्स अफिसमा ६३ लाख ९३ हजार १६२ रुपैयाँ ग्रस कमाइ गर्यो ।
यसपछि वैशाख ११ गतेबाट प्रदर्शनमा आएको लक्ष्मण सुनार निर्देशित सिनेमा ‘परालको आगो’ ४ करोड २७ लाख ६३ हजार ६४६ रुपैयाँ ग्रस कमाएको छ ।
वैशाख २५ गते ‘लालीबजार’ सँगै रिलिज भएको प्रकु पाण्डेयको निर्देशन तथा विजय बराल र वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र ‘मालती मंगले’ले ५१ लाख ६३ हजार ६९३ रुपैयाँ ग्रस कमाइ गरेको छ । यस्तै सोही दिन प्रदर्शन भएको प्रेम सोनी सुनारले निर्देशन गरेको चलचित्र ‘गुरूआमा’ ले २९ लाख ४२ हजार रूपैयाँ ग्रस कलेक्सन गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।
यसपछि जेठ १ गते रिलिज भएका अन्य दुई चलचित्रहरू ‘लाइफ ड्यामेज’ले २८ लाख ४६ हजार र ‘एक मुठ्ठी बादल’ले ५ लाख २१ हजार ग्रस कलेक्सनको व्यापार गरेको देखिएको छ ।
त्यस्तै, जेठ ८ गते प्रदर्शनमा आएका चलचित्रहरू ‘मितज्यू’ र ‘काजी’ को व्यापारिक नतिजा भने भोलि सोमबारको रिपोर्टमा सार्वजनिक हुने छ भने लालीबजार, परालको आगो, मालती मंगले, गुरूआमा, लाइफ ड्यामेज र एक मुठ्ठी बादलको पछिल्लो व्यापारिक विवरण (बक्सअफिस रिपोर्ट) पनि सार्वजनिक हुनेछ ।
यस्तै, शुक्रबारबाट प्रदर्शनमा आएका चलचित्र ‘रोल नं १’ र ‘कुम्भ’को व्यापारिक विवरण (बक्सअफिस रिपोर्ट) भने अर्को साताको सोमबार बाहिर आउने छ ।
यम थापाको लेखन तथा निर्देशनमा तयार भएको ‘लालीबजार’मा स्वस्तिमाका साथमा रवीन्द्रसिंह बानियाँ, विशाल देवकोटा, प्रशंसा सुवेदी, समाइरा थापा र मुकुन्द श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय छ ।
‘षट्कोण आर्ट्स’को ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता म्याक्स दीपेश खत्री हुन् । निर्देशक तथा लेखक प्रदीप भट्टराईले यस चलचित्रमा कार्यकारी निर्माताको भूमिका निभाएका छन् ।
पछिल्लो समय रिलिज भएका फिल्महरूको बक्स अफिस विवरण:
| क्र.सं. | फिल्मको नाम | रिलिज मिति | कुल आम्दानी (रु.) | कुल दर्शक (टिकट) |
| १. | लालीबजार | वैशाख २५ | ५,७६,३९,४७२ | १,९६,४०६ |
| २. | परालको आगो | वैशाख ११ | ४,२७,६३,६४६ | १,५३,९२६ |
| ३. | राम नाम सत्य | चैत २७ | ३,४०,८१,६९१ | १,२१,४०६ |
| ४. | पहाड | वैशाख १ | ६३,९३,१६२ | २०,२६६ |
| ५. | मालती मङ्गले | वैशाख २५ | ५१,६३,६९३ | १६,१३७ |
| ६. | गुरुआमा | वैशाख २५ | २९,४२,५७६ | ९,३२७ |
| ७. | लाइफ ड्यामेज | जेठ १ | २८,४६,२७० | ९,२४१ |
| ८. | एक मुठ्ठी बादल | जेठ १ | ६,२१,८२६ | १,६०१ |


