अनुपको निर्देशनमा ‘लाहुरी भैंसी’ जेठ २२ देखि मण्डलामा

काठमाडौं । नाटक ‘लाहुरी भैंसी’ यही जेठ २२ गतेदेखि मञ्चन हुने भएको छ । काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा नाटक मञ्चन हुन लागेको हो । नेपाली ग्रामीण समाजको जीवन, संघर्ष, सपना र सामाजिक यथार्थलाई केन्द्रमा राखेर नाटक तयार गरिएको छ ।

प्रसिद्ध कथाकार रमेश विकलको चर्चित कथामा आधारित नाटक ए. जे. बब स्टुडियो र क्रुक इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा मञ्चन हुन लागेको हो । यस नाटकलाई संयोग गुरागाईंले नाट्य रूपान्तरण गरेका छन् भने नाटकका निर्देशक अनुप न्यौपाने हुन् ।

नाटकले ग्रामीण परिवेशमा बस्ने लुखुरे, घैंटी र पोडेको परिवारले भैंसी किनेर जीवन सुधार्ने सपना देख्दा भोग्नुपर्ने सामाजिक, आर्थिक तथा वर्गीय विभेदका चुनौतीहरूलाई प्रस्तुत गर्नेछ । द्वारेबाको प्रभुत्व, गरिब किसानको विवशता, ऋणको बोझ र गाउँको सामाजिक मानसिकतालाई नाटकले यथार्थपरक ढंगले चित्रण गरेको निर्माण पक्षले जनाएको छ ।

‘समयले बाँच्ने त कथा नै हो। लाहुरी भैंसी हाम्रो समाज र समयको ऐना हो, जसले सपना, गरिबी, शक्ति र निराशाको चक्रलाई रंगमञ्चमार्फत दर्शकसमक्ष प्रस्तुत गर्ने प्रयास गरेको छ,’ निर्देशक अनुप न्यौपानेले भने ।

‘लाहुरी भैंसी’ जेठ २२ देखि सुरु भएर असार ७ गतेसम्म मञ्चन हुनेछ । हरेक दिन साँझ ५ः३० बजे नाटक मञ्चन हुनेछ भने शनिबार अतिरिक्त शो दिउँसो १ः३० बजे पनि मञ्चन हुने जनाइएको छ ।

नाटकको टिम अहिले रिहर्सलमा व्यस्त छ ।