म्युजिक भिडियोको हिट जोडी पल-मलिका चलचित्रमा पहिलोपटक एकसाथ

निर्माण तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’ मा अभिनेत्री मलिका महत अनुबन्धित भएकी छन् । निर्देशक तथा निर्माता चन्द्र पन्तले आइतबार मलिकालाई औपचारिक रूपमा ‘आ बाट आमा २’ मा अनुबन्ध गरेका हुन् ।

यो चलचित्रमा यसअघि रिश्ता गुरूङ र निकिता आचार्य अनुबन्ध भइसकेका थिए । मलिका भित्रिएसँगै चलचित्रका प्रमुख अभिनेत्रीहरूको लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ ।

पछिल्लो समय चलचित्र ‘महाभोज’ मा देखिएकी मलिका दर्शकमाझ खासगरी म्युजिक भिडिओबाट अत्याधिक चर्चामा आएकी थिइन् ।

विशेषगरी ‘फुलबुट्टे सारी’, ‘टाढा भए पनि’ लगायतका थुप्रै चर्चित म्युजिक भिडियोमा अभिनेता पल शाहसँग उनको जोडी निकै रूचाइएको थियो । यही कारण दर्शकले सामाजिक सञ्जालमा ‘पल शाहको जोडी मलिका महत कहिले?’ भन्ने चर्चा गरिरहेका थिए । निर्माण पक्षका अनुसार दर्शकको यही माग र चाहनालाई सम्बोधन गर्दै मलिकालाई चलचित्रमा अनुबन्ध गरिएको हो । पल र मलिका चलचित्रमा पहिलोपटक एकसाथ देखिन लागेका हुन् ।

‘आ बाट आमा २’ मा पल शाह, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का यसअघि नै अनुबन्धित भइसकेका छन् । निर्देशक पन्त स्वयंले कथा तथा पटकथा लेखेको चलचित्र सोमबारदेखि फ्लोरमा जाने तयारीमा छ । चलचित्रको प्रदर्शन मिति पनि घोषणा भइसकेको छ ।

आगामी दसैंको अवसर पारेर असोज ३० गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रको अमेरिका र क्यानडाको प्रदर्शन अधिकार समेत बिक्री भइसकेको निर्माण पक्षले जनाएको छ ।

आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा चलचित्र बन्न लागेको हो । गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ ले घरेलु बक्स अफिसमा झन्डै १४ करोड रूपैयाँ ग्रस कमाइ गरेको थियो । त्यसको सिक्वेलका रूपमा निर्माण हुन लागेको ‘आ बाट आमा २’ ले अघिल्लो कथालाई निरन्तरता दिने निर्देशक पन्तले बताएका छन् ।

नेपालमा यसको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ ।