सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने भएपछि अमेरिकाबाट फर्किए धुर्मुस

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) नेपाल फर्किएका छन् । केही समय अगाडिदेखि अमेरिका बस्दै आएका उनले आफू नेपालमै आएका बताएका छन् ।

न्याय मिल्ने आशामा आफू नेपाल फर्किएको उनले बताएका छन् । “न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु,” सामान्य प्रशासन मन्त्रालय अगाडि फाइल बोकेको तस्बिर राखेर उनले लेखेका छन्, “आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख–दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ ।”

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया सुरु गर्ने भएपछि उत्साहित बनेका उनी अमेरिकाबाट नेपाल फर्किएका हुन् । उनले सुरु गरेको यो रंगशाला कोभिडका कारण अलपत्र परेपछि करोडौैं रुपैयाँ बक्यौता रहेको थियो ।

आफ्नो नाममा रहेको बक्यौता सरकारले सकारेर सरकारले रंगशाला निर्माण पूरा गर्नुपर्ने भन्दै उनी वर्षौंदेखि सरकारी कार्यालय धाउँदै आएका थिए । उनले अमेरिकामा बस्ने भएपछि चलचित्र ‘पाँच पाण्डव’ छोडेका थिए ।

तर, सरकारले रंगशाला निर्माण आफैँ गर्ने भएपछि उनी नेपाल नै फर्किएका हुन् ।