टेरेन्स लुइसको उपस्थितिमा ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले
काठमाडौं । नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले राजधानीमा सम्पन्न भएको छ ।
भारतीय प्रख्यात कोरियोग्राफर टेरेन्स लुइसको विशेष उपस्थिति तथा नेपाली चलचित्र क्षेत्रका थुप्रै दिग्गज कलाकर्मीहरूको जमघटबिच विभिन्न चार डिभिजनका विजेताहरूको घोषणा गर्दै प्रतियोगिता समापन गरिएको हो । देशका विभिन्न पाँच सहरहरू तथा भारतबाट समेत आएका नृत्यकारहरूको अडिसनबाट छानिएका उत्कृष्ट प्रतिभाहरूले फिनालेमा आफ्नो प्रस्तुति दिएका थिए ।
कडा प्रतिस्पर्धाबीच सम्पन्न फिनालेमा जुनियर डिभिजनतर्फ रिधि सरकारले प्रथम स्थान हासिल गरेका छन् । ‘पप इन स्माइली’ द्वितीय र दीपेश तथा ऋषि तृतीय भएका छन् ।
जुनियर टिम डिभिजनतर्फ ‘क्रिएटर्स क्रु’ले उपाधि चुमेको छ भने ‘एनडिए जुनियर’ दोस्रो र ‘पूर्वाञ्चल डान्स स्टुडियो’ तेस्रो बनेका छन् ।
अपर डिभिजनमा साजन पाख्रिन प्रथम, साजन गुरुङ द्वितीय र ‘स्टार्स स्टेपर्स क्रू’ तृतीय घोषित भएका छन् ।
अपर टिम डिभिजनको उपाधि भने ‘टिम एनटी’ले हात पारेको छ । ‘इन्नेट सोल्स’ र ‘एस स्क्वायर फ्यामिली’ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । प्रत्येक डिभिजनका विजेताहरूले जनही १ लाख रुपैयाँ नगद पुरस्कार र २४ क्यारेट सुनको जलप लगाइएको विशेष ट्रफी प्राप्त गरेका छन्।
यस प्रतियोगिताको सबैभन्दा ठुलो आकर्षण विजेताहरूले विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउनु हो ।


