गौरी मल्ल भन्छिन्– दर्शकले घरमै बोलाएर दही, मोही र गुन्द्रुक उपहार दिन्थे

काठमाडौं । अभिनेत्री गौरी मल्लले नेपाली चलचित्रको सफलता कुनै कलाकारको नाम वा स्टारडमले मात्र नभई कथावस्तु र कलाकारिताले निर्धारण गर्ने बताएकी छन् ।

चौथो काठमाडौं कलिङ साहित्य महोत्सवअन्तर्गत आयोजित ‘सिनेमा : हिजो, आज र भोलि’ विषयक छलफलमा बोल्दै उनले नेपाली चलचित्र उद्योगको विगत, वर्तमान र भविष्यबारे आफ्नो अनुभव साझा गरिन् ।

“कुनै कलाकारको अनुहार वा नामका आधारमा मात्रै सिनेमा चलेको छैन । हिजो पनि विषयवस्तु नै बोल्थ्यो, आज पनि बोल्छ र भोलि पनि बोल्ने त्यही हो,” उनले भनिन् ।

चलचित्र क्षेत्रमा चार दशकभन्दा बढी समय बिताएकी मल्लले आफ्नो सुरुवाती यात्रा सम्झँदै पहिले पनि कलाकारसँग औपचारिक सम्झौता हुने गरेको तर बीमाको व्यवस्था नभएको बताइन् । अहिले भने बीमा अनिवार्य भइसकेको उनको भनाइ थियो ।

उनले आफ्नो समयलाई नेपाली चलचित्रको ‘स्वर्ण युग’को संज्ञा दिँदै त्यसबेला दर्शक र कलाकारबीच गहिरो सम्बन्ध रहेको उल्लेख गरिन् ।

“हामीलाई दर्शकले घरमा बोलाएर दही, मोही र गुन्द्रुकसम्म उपहार दिनुहुन्थ्यो । अहिले त्यो आत्मीयता कम हुँदै गएको छ,” उनले भनिन् ।