‘चमेलीको पोइ’को प्रदर्शन मिति तय, दुई दशकपछि नारायण त्रिपाठीको कमब्याक

काठमाडौं । एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको चलचित्र ‘चमेलीको पोइ’को प्रदर्शन मिति तय गरिएको छ ।

यसअघि गत वर्षको चैत १३ गतेलाई प्रदर्शन मिति तय गगरेको चलचित्रको निर्माण टिमले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी गराएको हो ।

यो चलचित्र बडादशैंको अवसर पारेर आगामी असोज १६ गते देखि एकसाथ प्रदर्शनमा आउने भएको छ ।

निर्माण टिमले प्रदर्शन मिति घोषणा सँगै सार्वजनिक गरेको पोस्टरमा सिनेमाका मुख्य जोडी सुरक्षा पन्त र मुकुन भुषाल देखिएका छन् । पत्नीबाट पीडित पुरुषको कथामा आधारित रहेको संकेत गरेको चलचित्रको उक्त तस्विरमा सुरक्षाले मुकुनको दुईवटै खुटा समातेर भुइँमा तानिरहेको देख्न सकिन्छ । मुकुन भने रुन्चे अनुहारमा कसैसँग सहयोग मागिरहेका छन् । यद्यपि, निर्माण टिमले कथावस्तुबारे जानकारी गराएको छैन ।

यस्तै, यस चलचित्रको मुख्य आकर्षणमध्ये एक चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीको पुनरागमन पनि हो । झण्डै दुई दशक (२० वर्ष) पछि त्रिपाठीले यही सिनेमामार्फत ठूलो पर्दामा ‘कमब्याक’ गर्दैछन् । फिल्ममा उनले एक महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्, जसले दर्शकलाई भरपूर मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।

सुरक्षा पन्त, मुकुन र नारायणका अलावा चलचित्रको मुख्य भूमिकामा उविल्सन विक्म राई, रविन्द्र झा, अंशु महर्जन, खड्कबहादुर पुन (खबपु), उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, गणेश गौतम लगायत छन् ।

त्यस्तै, प्रेमदेव गिरी, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आरएल शाही, रितु मल्ल ठकुरी, अनाररत्न बज्राचार्य र विन्दु आचार्यको पनि चलचित्रमा अभिनय रहेको छ ।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माताहरू सुनीता सापकोटा र रामनारायण उपाध्याय हुन् । निर्देशक एभरेष्ट सूर्य बोहराकै कथा रहेको यस चलचित्रको पटकथा लेखनमा उनलाई शिबम अधिकारीले सघाएका छन् ।

चलचित्रको कार्यकारी निर्मातामा उदय बिक्रम राणा, रितु मल्ल ठकुरी र कपील आचार्य रहेका छन् भने सुदिप कुँवर, सुमित्रा थापा, नारायण त्रिपाठी, प्रदिपकुमार सापकोटा र यमप्रसाद वली सह-निर्माताको रूपमा जोडिएका छन् । धनकुमारी श्रेष्ठ (बोहरा) ले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेकी छिन् ।

मुस्ताङ, पोखरा र काठमाडौंका स्थानहरूमा खिचिएको यो चलचित्रका गीतहरूमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत रहेको छ भने चर्चित कोरियोग्राफर कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।