चलचित्र निर्देशक कृष्ण चापागाईंको अमेरिकामा निधन

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका स्थापित निर्देशक, लेखक तथा निर्माता कृष्ण चापागाईंको निधन भएको छ । लामो समयदेखि परिवारसहित अमेरिकामा बसोबास गर्दै आएका चापागाईंको बुधबार बिहान (नेपाली समय अनुसार) अमेरिकाको बोस्टनमा हृदयघातका कारण निधन भएको हो ।

पारिवारिक स्रोत र अमेरिकामा रहेका नेपाली कलाकर्मीहरूका अनुसार तीन दिनअघि उनलाई अचानक हृदयाघात भएको थियो । हृदयाघातलगत्तै उनलाई बोस्टनस्थित क्याम्ब्रिज हेल्थ एलायन्स एभरेट अस्पताल पुर्‍याइएको थियो । उनलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको भए पनि उपचारकै क्रममा बुधबार बिहान ५२ वर्षको उमेरमा अन्तिम सास फेरेका हुन् ।

कृष्ण चापागाईं नेपाली चलचित्र क्षेत्रका एक ‘अलराउन्डर’ व्यक्तित्वका रूपमा चिनिन्थे । उनले चलचित्रको निर्देशन मात्र नभई लेखन र निर्माणमा पनि उत्तिकै दख्खल राख्थे ।

चापागाईंले ‘एक नजर’, ‘दिदीभाइ’, ‘चट्टान’, ‘इज्जतदार’, ‘दिवानापन’, ‘निखिल दाइ’, ‘महान’ जस्ता चलचित्रको निर्देशन गरेका छन् । यीमध्ये प्रायः सिनेमा उनी आफैँले लेखेका हुन् । उनले पछिल्लो पटक निर्देशन गरेको चलचित्र ‘दुश्मनी’ थियो, जुन सन् २०१३ मा प्रदर्शन भएको थियो ।

चलचित्र निर्माण बाहेक चापागाईंले काठमाडौंको जोरपाटीमा ‘चापागाईं सुटिङ स्टुडियो’ सञ्चालन गरेका थिए । नेपालमा व्यवस्थित सुटिङ स्टुडियोको अभाव रहेको बेला उनले सञ्चालन गरेको स्टुडियोले सयौँ चलचित्रको छायांकनमा ठूलो सहयोग पुर्‍याएको थियो ।

चापागाईं आगामी असोजमा नेपाल आएर सिनेमा निर्माण तथा निर्देशन गर्ने सोचमा थिए । तर, उनको त्यो सपना अधुरै बनेको छ ।

चापागाईंको निधनको खबरले नेपाली चलचित्र जगत स्तब्ध बनेको छ । अमेरिकामा रहेका र नेपालमा रहेका कलाकार, निर्देशक तथा प्राविधिकहरूले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । उनीहरूले चापागाईंलाई एक ‘मृदुभाषी, सहयोगी र सिर्जनशील व्यक्तित्व’का रूपमा स्मरण गरेका छन् ।