कस्तो छ चलचित्र ‘जाँड’को ट्रेलर ?

काठमाडौं । राजु शाहको निर्देशनमा निर्माण भएको चलचित्र ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच आगामी असार १२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्र ‘जाँड’को ट्रेलरमा मद्यपानका कारण परिवारमा उत्पन्न हुने तनाव, कलह र त्यसले समाजमा पार्ने नकारात्मक प्रभावलाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ ।

समाजमा जरा गाडेर बसेका विभिन्न विकृति तथा कुसंस्कारविरुद्ध सशक्त सन्देश दिएको ट्रेलरले जाँड सेवन गर्ने व्यक्तिको व्यवहारले परिवारमा सिर्जना गर्ने समस्याका साथै पत्नी, छोरी र समाजले त्यस्ता व्यक्तिलाई हेर्ने दृष्टिकोणलाई यथार्थपरक ढंगले चित्रण गरेको देखिन्छ ।

चलचित्रले मद्यपानको लतले पारिवारिक सम्बन्धमा ल्याउने दरार मात्र होइन, नेपाली समाजमा अझै पनि विद्यमान ‘वंश धान्न छोरा नै चाहिन्छ’ भन्ने परम्परागत सोचमाथि पनि प्रश्न उठाएको छ । छोराप्रतिको मोह र छोरीलाई हेर्ने विभेदपूर्ण दृष्टिकोणका कारण परिवार र समाजमा देखिने समस्या तथा त्यसविरुद्धको आवाजलाई चलचित्रले कथावस्तुको केन्द्रमा राखेको निर्माण पक्षले जनाएको छ ।

राजेन्द्र भट्टको निर्माणमा बनेको चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल, किरणप्रताप केसी लगायतका कलाकारको अभिनय छ ।

सुकुलढोका मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रको निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह रहेका छन् ।

सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले कथा, पटकथा तथा संवाद संयुक्त रूपमा तयार परेका हुन् । चलचित्रको मुख्य सहायक निर्देशकमा शम्भु गौतम हुन भने किशोर डंगोल र नरेन्द्रकुमार केसी सह-निर्देशकको भूमिकामा छन् । दिपेन बस्न्यातले छायांकन तथा सम्पादन गरेको चलचित्रमा योगेन्द्र श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

सामाजिक यथार्थ, पारिवारिक संवेदना र चेतनामूलक सन्देशलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘जाँड’ले मद्यपानको दुष्प्रभाव र लैंगिक विभेदजस्ता विषयलाई उठान गर्दै दर्शकमाझ फरक स्वादको कथा प्रस्तुत गर्ने अपेक्षा निर्माण टिमले बताएको छ ।