अन्तर्राष्ट्रिय सफलताबापत ‘इलिफेन्ट्स इन द फग’ टोलीलाई बोर्डको २ लाख ५० हजारसहित सम्मान

काठमाडौं । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली सिनेमाको इतिहासमै अहिलेसम्मकै ठूलो सफलता हासिल गर्न सफल चलचित्र ‘इलिफेन्ट्स इन द फग’को टोलीलाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कथा, संस्कृति र सिर्जनशीलतालाई उच्च सम्मानका साथ स्थापित गरेको कदरस्वरूप चलचित्र विकास बोर्डले बुधबार एक विशेष समारोहका बीच चलचित्रका निर्माता, निर्देशक, कलाकार तथा प्राविधिक टोलीलाई नगद २ लाख ५० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरेको हो ।

चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा राजधानीस्थित नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (नाथम) मा आयोजित उक्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहले संयुक्त रूपमा पुरस्कार एवं सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री खड्गराज पौडेलले ‘इलिफेन्ट्स इन द फग’ ले अन्तर्राष्ट्रिय स्तरमा नेपालको शिर उँचो बनाएको बताए ।

“धेरैको सपना रहने विश्वमञ्चमा पुगेर यो चलचित्रले नेपाललाई चिनाउने जुन काम गरेको छ, त्यो अतुलनीय छ,” उनले भने, “पछिल्लो समय नेपाली सिनेमाले मारेको यो फड्कोले देशको प्रतिष्ठामा नयाँ आयाम थपेको छ ।”

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र टोलीको उपलब्धिलाई राष्ट्रकै अमूल्य गौरवको रूपमा व्याख्या गरे । उनले भने, “तपाईंहरूले प्राप्त गर्नुभएको यो सफलताको मूल्य २ लाख ५० हजार वा २ करोड ५० लाख रुपैयाँले पनि मापन गर्न सकिँदैन । यो नेपालका लागि एउटा ऐतिहासिक उपलब्धि हो ।”

मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका लागि सरकारले कानुनी र नीतिगत सुधारका कार्यहरू अघि बढाएको जानकारी दिँदै गुणस्तरीय फिल्म निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा करिब साढे तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको समेत जानकारी दिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले ५६ वर्षदेखि पुरानो रहेको चलचित्र ऐनलाई समयानुकूल परिमार्जन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । वर्तमान सरकारले चलचित्र क्षेत्रलाई उच्च प्राथमिकतामा राखेकोमा आभार प्रकट गर्दै उनले भने, “अब नेपाललाई केवल हिमालको देश भनेर मात्र होइन, ‘इलिफेन्ट्स इन द फग’ जस्ता उत्कृष्ट सिनेमा बन्ने देशका रूपमा पनि विश्वले चिन्न थालेको छ।”

सम्मान ग्रहण गर्दै चलचित्रका निर्देशक अविनाश विक्रम शाहले यो सफलता कुनै एक व्यक्तिको नभई सम्पूर्ण नेपाली चलचित्रकर्मीहरूको साझा उपलब्धि भएको बताए । “सिनेमा केवल मनोरञ्जन होइन, यो हाम्रो संस्कृति र पहिचानलाई विश्वभर पुर्‍याउने सशक्त माध्यम हो। आज मेरो कामले मलाई यो ठाउँमा उभ्याएको छ र यसले मलाई थप जिम्मेवारी महसुस गराएको छ,” उनले भने ।

कार्यक्रममा निर्देशक शाहसँगै निर्माताहरू अनुप पौडेल र प्रचण्डमान श्रेष्ठ, अभिनेत्री पुष्पा थिङ लामा लगायतका कलाकार र प्राविधिकहरूले सम्मान ग्रहण गरेका थिए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले यस्ता सफल चलचित्रले नेपाललाई छायांकन गन्तव्यका रूपमा विश्वभर ब्रान्डिङ गर्न सघाउने विश्वास व्यक्त गरे । पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले कार्यक्रमको संयोजन गर्दै पर्यटन र चलचित्रलाई सँगसँगै लैजानुपर्नेमा जोड दिए ।

समारोहमा नेपाली चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत, पर्यटन सचिव मुकुन्दप्रसाद निरौलासहित कलाकारहरू मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, बसुन्धरा भुसाल, करिश्मा मानन्धर, निरुता सिंह, दयाहाङ राई, जितु नेपाल, पशुपति राई, मनोज पण्डित, रञ्जित आचार्यलगायत विभिन्न १४ वटा चलचित्र सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

स्मरण रहोस्, ‘इलिफेन्ट्स इन द फग’ ले विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ‘अन सर्तेन रिगार्ड’ विधामा जुरी पुरस्कार र उत्कृष्ट ध्वनि सिर्जना पुरस्कार-२०२६ प्राप्त गरी इतिहास रचेको थियो ।