असार १५ बाट फ्लोरमा जाँदै कृषाको ‘पारस’

काठमाडौं । कृषा चौलागाईंको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ असार १५ गतेबाट फ्लोरमा जाने भएको छ । निर्माण टिमले फ्लोरमा जाने समय तोक्दै बिहीबार कलाकारहरुको फेस टेष्ट गरेको छ । बालाजु ल्याबमा कलाकारहरुको पात्र अनुसार लुक्स हेरिएको हो ।

कृषाले चलचित्रको अधिकांश पूर्वतयारीको काम सकिएकाले छायांकनमा जान लागिएको बताइन् । उनका अनुसार चलचित्रको छायांकन असार १५ गतेदेखि काठमाडौं आसपासका क्षेत्रमा गरिनेछ । सोहीको तयारीका साथ कलाकारहरुको लुक्स हेरिएको निर्देशक कृषाले जानकारी दिइन् ।

केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा निखिल उप्रेती, रमेश उप्रेती, निरुता सिंह, सुशील श्रेष्ठ, जसिता गुरुङ र पुस्कर गुरुङ अनुबन्धित भइसकेका छन् । अन्य कलाकारको छनोट प्रक्रिया भने जारी छ ।

चलचित्रको पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका हुन् । छायांकन निर्देशक (डीओपी)को जिम्मेवारी पुरुषोत्तम प्रधानले सम्हालेका छन् । मानकृष्ण महर्जन र शेखरबहादुर तामाङ क्यामेरा टिममा रहनेछन् ।