५०० आवेदकमध्ये रोशन केसी बने ‘गंगा रानी’का नायक

काठमाडौं । निर्देशक राजबहादुर सानेको आगामी सिनेमा ‘गंगा रानी’मा मुख्य अभिनेताको रूपमा नवोदित कलाकार रोशन केसी अनुबन्धित भएका छन् । करिब ५०० भन्दा बढी आवेदकमध्ये छनोट हुँदै रोशनले आफ्नो पहिलो सिनेमामै मुख्य भूमिका हात पारेका हुन् ।

सिनेमाका लागि यसअघि नै अभिनेत्री वर्षा सिवाकोटी मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेकी छन् । ‘गंगा रानी’मा रोशन र वर्षाको जोडी दर्शकले पहिलोपटक ठूलो पर्दामा देख्न पाउनेछन् ।

केही म्युजिक भिडियोमार्फत अभिनय यात्रा सुरु गरेका रोशन ‘गंगा रानी’लाई लिएर उत्साहित छन् । उत्कृष्ट कथा र अनुभवी टिमसँग काम गर्ने अवसर पाएकाले सिनेमामार्फत डेब्यु गर्न तयार भएको उनले बताएका छन् ।

निर्माण टिमले वर्षा सिवाकोटी अनुबन्धित भएसँगै चार अभिनेता र चार अभिनेत्रीका लागि अडिसन खुलाएको थियो । सोही अडिसनबाट रोशन मुख्य अभिनेताको रूपमा छनोट भएका हुन् ।

निर्देशक सानेका अनुसार अहिले अडिसनबाट प्राप्त फोटो तथा भिडियोको आधारमा थप ३ अभिनेता र ३ अभिनेत्री छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

आहा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने ‘गंगा रानी’का निर्माता कमलप्रसाद शर्मा हुन् । साने स्वयंको लेखन तथा निर्देशन रहने सिनेमाको छायांकन आगामी भदौको दोस्रो साताबाट सुरु गर्ने तयारी छ ।