सुशील र न्यान्सीको ‘अक्षरा’ ३७ दिनमा प्याकअप

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सहायक निर्देशकका रूपमा सक्रिय विनयराज पौडेलको डेब्यु निर्देशन रहेको चलचित्र ‘अक्षरा’ को सम्पूर्ण छायांकन पुरा भएको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार ३७ दिनको निरन्तर कार्यतालिका भित्रै चलचित्रको ‘इन्ड क्ल्याप’ गरिएको हो ।

निर्देशक पौडेलले कलाकार र प्राविधिकहरूको कडा मिहिनेत र बलियो सहकार्यका कारण चलचित्रलाई पूर्व निर्धारित समयमै सम्पन्न गर्न सफल भएको बताएका छन् ।

छायांकनको अन्तिम चरणमा निर्माण टोलीले नेपाली महिलाहरूको महान् चाड तीजलाई लक्षित गर्दै तयार पारिएको विशेष गीत ‘नाँचौं न बरि लै’को छायांकन गरेको थियो । उक्त गीतमा चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको छ भने सुरेन्द्र रानाले शब्द र कर्णराज गिरीले संगीत भरेका छन् । यस गीतले चलचित्रको प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य अभिनय रहेको छ । यस्तै, बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानाले पनि अभिनय गरेका छन् ।

चलचित्रको कथा निर्माता उग्रसेन ढुङ्गाना आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलको संयुक्त प्रयासमा तयार भएको हो ।

चलचित्रलाई उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन् ।

दिपेन बस्न्यातको छायांकन रहेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ । यस्तै, मदन न्यौपानेको श्रृङ्गार, प्रार्थना भट्टराईको भेषभूषा र सुमन काफ्लेको निर्माण व्यवस्थापन रहेको छ । दिवस विक्रम बोहोरा मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् ।

यो चलचित्र आगामी भदौ २६ गतेबाट देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शन हुने तयारीमा छ । चलचित्रको वितरणको जिम्मेवारी नेशनल सिने ग्रुपले लिएको छ ।