‘काजी’ले दर्शकलाई सरप्राइज बनाउँछ भन्थे, विपीन आफैं ‘सरप्राइज’ भए !
काठमाडौं । कुनै समय अभिनेता विपीन कार्कीको नाम सुन्नेबित्तिकै दर्शक हलसम्म तानिन्छन् भन्ने विश्वास गरिन्थ्यो । तर, पछिल्लो समय उनको ‘स्टार भ्यालु’ माथि प्रश्न उठ्न थालेको छ ।
जेठ ८ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘काजी’ बक्स अफिसमा असफल भएपछि विपीनका लागि वर्षको सुरुवात निकै कष्टकर देखिएको छ । फिल्म रिलिज अगाडि ‘दर्शकलाई सरप्राइज दिने’ दाबी गरेका विपीन स्वयं अहिले फिल्मको नतिजाबाट ‘सरप्राइज’ भएका छन् ।
प्रचारप्रसारका क्रममा अभिनेता विपीन कार्कीले ‘काजी’लाई सामान्य फिल्मका रूपमा मात्र हेरेका थिएनन् । उनले यसलाई ‘मुनामदन’ र ‘रोमियो जुलियट’ जस्तै युगौंसम्म सम्झिने प्रेम कथाका रूपमा चित्रण गरेका थिए । काजी र कजिनीको प्रेमले दर्शकको मन पगाल्ने उनको दाबी थियो । तर, फिल्म हलमा लागेपछि न त दर्शकले यसलाई रुचाए, न त विपीनको त्यो दाबी नै मिल्यो ।
नेपाली फिल्म उद्योगमा विपीन कार्की अहिलेका सबैभन्दा महँगा अभिनेतामध्ये एक मानिन्छन् । फिल्म ‘तेल भिसा’का निर्माताले विपीनलाई ५० लाख रुपैयाँ पारिश्रमिक दिएको खुलासा गरेसँगै उनको बजार मूल्यको निकै चर्चा भएको थियो । त्यसयता उनले खेल्ने हरेक फिल्मको पारिश्रमिक ५० लाखको हाराहारीमा हुने गरेको बताइन्छ ।
तर, विडम्बना ! चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जेठ ३१ गतेसम्म ‘काजी’ले घरेलु बक्स अफिसमा मात्र ४४ लाख ४८ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो कमाइ विपीनले एउटा फिल्मबापत बुझ्ने पारिश्रमिकभन्दा पनि कम हो ।
विपीनका लागि यो वर्षको दुई महिना निकै भारी परेको छ । वैशाख १ गते (नयाँ वर्ष) को अवसर पारेर रिलिज भएको उनको अर्को फिल्म ‘पहाड’ पनि व्यावसायिक रूपमा असफल भएको थियो । ‘पहाड’ले जम्मा ६५ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो ।
अहिले ‘काजी’ले त ‘पहाड’को रेकर्ड पनि तोड्न सकेन । वैशाखमा एउटा र जेठमा अर्को गरी दुई महिनाको अन्तरालमा विपीनका दुईवटा फिल्म लगातार फ्लप भएपछि उनको साखमा धक्का लागेको छ ।
पर्दामा फरक–फरक चरित्र निभाउन माहिर मानिने विपीनले केही समययता फिल्मको संख्या बढाए पनि गुणस्तर र व्यावसायिक पक्षमा ध्यान नदिएको विश्लेषण हुन थालेको छ । महँगो पारिश्रमिक लिएर फिल्म खेल्ने तर फिल्मले पारिश्रमिक बराबरको पनि व्यापार नगर्ने अवस्थाले निर्माताहरूका लागि विपीन अब ‘सुरक्षित लगानी’ हुन् कि होइनन् भन्ने बहस सुरु भएको छ ।
तर, गत वर्षको सबैभन्दा धेरै कमाई गर्ने चलचित्रहरुमध्येको एक ‘ऊनको स्वीटर’को प्रमुख भूमिकामा विपीन नै थिए । जसका उनको तारिफ भएको थियो ।
‘काजी’को असफलताले विपीनलाई आगामी दिनमा फिल्म छनोट गर्दा र प्रचार गर्दा थप जिम्मेवार बन्नुपर्ने पाठ सिकाएको छ । एउटा अभिनेताका रूपमा विपीनले लिएको ‘सरप्राइज’ दिने बाचा ‘काजी’ मा असफल भए पनि, अहिले सबैको नजर विपीनको आगामी यात्रामा छ ।
विपीनका लागि अबको सबैभन्दा ठूलो आशाको केन्द्र ‘कबड्डी ५’ बनेको छ । नेपाली फिल्म उद्योगको सबैभन्दा सफल फ्रेन्चाइज मानिने ‘कबड्डी’ को पाँचौँ श्रृंखलामा विपीन महत्वपूर्ण भूमिकामा देखिँदैछन् । अघिल्ला श्रृंखलाहरूले बक्स अफिसमा कीर्तिमानी व्यापार गरेकाले यो फिल्मबाट विपीनले आफ्नो गुमेको व्यावसायिक साख फिर्ता पाउने अपेक्षा गरिएको छ ।
विपीन केवल अरूको फिल्ममा मात्र सीमित नभई अब निर्माणमा पनि हात हाल्दैछन् । उनले आफ्ना साथीहरूसँग मिलेर ‘लाइट वेन्डर्स प्राली’ नामक निर्माण कम्पनी स्थापना गरेका छन् । यही कम्पनीमार्फत नयाँ फिल्म निर्माणको तयारी तीव्र पारिएको छ ।
चर्चित पत्रकार, लेखक तथा चिन्तक विजय कुमार पाण्डेले यो चलचित्रको निर्देशन गर्ने पक्का भएको छ । सार्वजनिक सरोकारका विषयमा गहिरो दख्खल राख्ने विजय कुमार र अभिनयमा भर्सटाइल विपीनबीचको यो सहकार्यलाई फिल्म क्षेत्रमा निकै चासोका साथ हेरिएको छ ।
आफ्नै ब्यानरमा बन्न लागेको यस चलचित्रमा विपीन स्वयं मुख्य भूमिकामा रहनेछन् । विजय कुमारको लेखन र निर्देशनमा विपीनको अभिनयले कस्तो जादु चलाउने हो, त्यो भने भविष्यले नै बताउनेछ ।


