राष्ट्रिय चलचित्र पुरस्कार २०८२: ‘ऊनको स्वीटर’ बन्यो उत्कृष्ट सिनेमा
काठमाडौं । ‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ ।
नवीन चौहानद्वारा निर्देशित यस चलचित्रले ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८२’ मा ‘सर्वोत्कृष्ट चलचित्र’को उपाधि जित्न सफल भएको हो ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा चलचित्र विकास बोर्डले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट उत्कृष्ट पुरस्कार प्रदान गरिएको हो ।
राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वहरू, कलाकार र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
मार्मिक र मौलिक कथावस्तुका लागि चर्चामा रहेको ‘ऊनको स्वीटर’ले प्रदर्शनको समयदेखि नै समीक्षक र दर्शकको मन जित्दै आएको थियो । आर्टमान्डुको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रले नेपाली समाजको यथार्थपरक चित्रण र भावनात्मक सम्बन्धलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।
‘ऊनको स्वीटर’मा अभिनेता विपिन कार्की र नायिका मिरुना मगरले मुख्य भूमिका निभाएका छन् । यस्तै चलचित्रमा परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेललगायतका कलाकारको अभिनय छ ।
निर्देशक चौहानले यसअघि धेरै म्युजिकल फिल्महरूबाट चर्चा कमाए पनि यो चलचित्रले उनलाई नेपाली चलचित्र निर्देशनको स्थापित उचाइमा पुर्याएको छ ।
