‘कुमारी’ पछि कता हराए दिनेश राउत ?

काठमाडौं । नेपाली चलचित्र उद्योगमा बाक्लै संख्यामा सिनेमा बनाउने एउटा परिचित नाम हो– दिनेश राउत । नेपाली चलचित्र उद्योगमा गिनेचुनेका निर्देशकहरूकै सूची अटाउने नाम हो यो । र, उनले बनाएका केही चलचित्र पनि त्यस्तै छन् ।

जब उनले चलचित्र निर्देशन गर्न थाले उनले लगातार सिनेमा बनाउँदै आएका छन् । उनले पछिल्लो समय निर्देशन गरेको चलचित्र ‘कुमारी’ हो । ‘कुमारी’ अघि उनले निर्देशन गरेको चलचित्र ‘महाभोज’ हो ।

त्यसयता दिनेश मौन छन् । सार्वजनिक कार्यक्रममा पनि खासै देखिँदैनन् । र, उनले कुनै चलचित्र निर्देशनको पनि घोषणा गरिसकेका छैनन् ।

तर, उनले तत्काल फ्लोरमा गइहाल्ने गरी कुनै चलचित्रका लागि तयारी गरेका पनि छैनन् ।

गत माघको तेस्रो साताबाट ‘कुमारी’ सार्वजनिक प्रदर्शनमा आएको थियो । त्यसयता उनले तत्काल निर्देशन गर्नेगरी कुनै पनि चलचित्रका लागि तयारी गरेका छैनन् ।

पाँच महिना बितिसके पनि किन मौन छन् दिनेश ? यसको मुख्य कारण हो, ‘महाभोज’ र ‘कुमारी’को बजार । यी दुवै चलचित्र बक्सअफिसमा सफल हुन सकेका थिएनन् । यी दुवै चलचित्रका निर्माताको लगानी सुरक्षित हुन सकेको थिएन ।

लगातार दिनेशका चलचित्र बक्सअफिसमा सफल हुन नसके पनि उनलाई केही निर्माताले सहकार्यका लागि आग्रह गर्दै आइरहेका छन् । तर, दिनेश तत्काल कुनै पनि चलचित्रमा काम गर्ने सोचमा नरहेको बताइएको छ ।

राउतले ‘कुमारी’अघि २०७९ सालका मदन पुरस्कार विजेता विवेक ओझाको कथामा आधारित नयाँ सिनेमा र शान बसन्यातको नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा थिए । यी प्रोजेक्टलाई पनि थन्काएका छन् ।

असफलतापछि कसरी बक्सअफिसलाई सफल चलचित्र दिन सकिन्छ भन्नेमा उनी ‘पर्ख र हेर’को रणनीतिमा रहेको स्रोत बताउँछ । त्यसैले उनी हतारमा चलचित्र निर्देशन गरिहाल्ने मनस्थितिमा छैनन् ।

तर, लामो समय चलचित्र क्षेत्रमै रहेकाले उनी केही चलचित्र बक्सअफिसमा असफल हुँदैमा पछि हट्ने सोचमा नरहेको उनी निकट स्रोतको भनाइ छ ।

दिनेशले निर्देशन गरेको चलचित्र ‘प्रकाश’भने बक्सअफिसमा औसत रहे पनि धेरैले तारिफ गरेको सिनेमा थियो ।

चलचित्र क्षेत्रमा उतारचढाव सामान्य कुरा हो । तर, निर्देशक राउत सामाजिक सञ्जालबाट पनि निष्क्रिय हुनुले धेरैलाई अचम्मित तुल्याएको छ ।