चलचित्र विकास बोर्डद्वारा मृगस्थलीमा वृक्षारोपण, समाइरा मुख्य अतिथि
काठमाडौं । चलचित्र विकास बोर्डले २६ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा पशुपति क्षेत्रस्थित विश्वरूप मृगस्थलीमा वृक्षारोपण कार्यक्रम गरेको छ ।
बोर्डको आयोजना तथा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ, एमडी ३२५ नेपालको सहकार्यमा शनिबार बिहान कार्यक्रम आयोजना गरिएको हो ।
वातावरण संरक्षण, पर्यावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको बोर्डले जनाएको छ ।
नेपाल सरकारले सञ्चालन गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’लाई साथ दिँदै बोर्डले उक्त कार्यक्रम गरेको हो । स्वच्छ वातावरणको मौलिक हक, वातावरणीय सन्तुलनसम्बन्धी राज्यको नीति तथा सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने नेपालको प्रतिबद्धतालाई स्मरण गराउँदै चलचित्रकर्मीबाट वृक्षारोपण कार्यक्रम गरिएको छ ।
कार्यक्रम चलचित्र ‘लालीबजार’की बाल कलाकार समाइरा थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । देशभरका १० वटा सिनेमा हलमा आजै ५१ दिन मनाउन सफल भएको अवसरमा उक्त चलचित्रकी बाल कलाकार थापालाई प्रमुख अतिथिका रूपमा सहभागी गराइएको हो ।

