असार १५ः खोई असारे भाका ?
काठमाडौं । आज असार १५, अर्थात राष्ट्रिय धान दिवस । अझ सबैले बुझ्ने भाषामा भनौं दही चिउरा खाने दिन । यो दिन किसानहरु रोपाईको कामबाट एकदिन भए पनि फुसर्द मिलाएर दही चिउरा खाँदै नाँच्दै रमाउँछन् । तर विडम्बना किसान खुशीले नाँचे पनि किसानलाई नँचाउने असारे गीत भने अहिले दुर्लभ झैं छ ।
असारे भाका भन्नासाथ जोकोहीले जनकवि केशरी धर्मराज थापाको लोकप्रिय गीत ‘हरियो डाँडा माथि हलो जोत्ने साथी’ सम्झन्छन् । यो गीत नेपाली सांगीतिक क्षेत्रमा सदाबहार नै हो ।
असारे भाका भन्नासाथ पछिल्ला दशकमा सम्झिने नाम हुन् रामचन्द्र काफ्ले । यिनले हालसम्म झण्डै १० वटा हाराहारीमा असारे भाका श्रोता र दर्शकमाझ ल्याइसकेका छन् । यिनै रामचन्द्रले यसपटक पनि ‘असारे पानी साउने झरी’ बोलको गीत आइतबार साँझ सार्वजनिक गरेका छन् । त्यसो त रामचन्द्रलाई पनि असारे भाका घट्दै गएकोमा निकै चिन्ता रहेछ ।
‘जे कुरा पनि चल्यो अथवा बिक्यो भने मात्र त्यसको फ्लो बढ्छ । असारे भाका भनेको असार १५ सम्म मात्र बज्ने हो । यो भाका तिजको जस्तो दुई तीन महिना अगाडिदेखि नै बज्ने भन्ने हुँदैन’, उनी भन्छन्, ‘सिजनका गीतहरुको निश्चित समयावधि हुन्छ । एउटा सिजनका लागि मात्र हुने भएकाले सर्जकले पनि यस्ता सिर्जनामा खासै चासो राख्दैनन् ।’
रामचन्द्रका अनुसार हरेक सिर्जनामा व्यावसायिक कुरा पनि जोडिएका हुन्छन् । ‘व्यावसायिक रुपमा लगानी गरेपछि त्यसको प्रतिफल पाइने भन्ने आशा बोकेर बसेका हुन्छौं । तर असारे गीतमा व्यावसायिक प्रतिफल पाउने सम्भावना अत्यन्त न्यून नै हुन्छ । सोही कारण यस्ता गीतमा सर्जकले खासै चासो देखाएको पाइँदैन’, उनी भन्छन् ।
रामचन्द्रले २०६० सालमा ‘गामबेसी’ नामक एलबम निकालेका थिए । यो एलबममा रहेको ‘हो हो माले’ गीतकै कारण एलबम झण्डै १० हजार प्रति बिकेको थियो । ‘तर असार १५ सकिएपछि क्यासेटको डिमान्ड नै आएन । सिजनल भइदियो । त्यसकारण यी गीतहरु लामो समयसम्म जाँदैन । किनभने अहिले व्यावसायिक संगीत हो नि त’, रामचन्द्र भन्छन् ।
गायिका मञ्जु पौडेललाई असारे गीत गाउने प्रस्ताव धेरै आए, तर उनले आफ्नै स्वर म्याच नहुने कारण ती गीतलाई अस्वीकार गरिन् । मञ्जुको बुझाईमा असारे भाका गाउनका लागि टिपिकल किसिमको मौलिक स्वर चाहिन्छ । मञ्जुको बुझाईमा तीज गीतको बढ्दो प्रभावका कारण असारे भाका गीत छाँयामा परिरहेका छन् ।
‘तीज गीतको तयारी तीन चार महिना अघिदेखि नै हुन्छ । तीज गीतहरु पनि दुई तीन महिना अगाडिदेखि नै रेडियो र टेलिभिजनमा बज्न थाल्छन् । जसकारण मान्छेमा असारे गीतमा खासै चासो देखिँदैन’, उनी भन्छिन्, ‘अनि अर्को कुरा नयाँ पुस्ताले असारे भाका बारे केही थाहा नै पाएका छैनन् । उनीहरुका आमाबुवाले पनि यो गीतको बारेमा जानकारी दिन सकेका छैनन् । त्यसकारण पनि असारे भाकाको क्रम घट्दो छ ।’
लोकगायक बद्री पंगेनीले पनि हालसम्म असारे भाकाका गीत रेकर्ड गराएका छैनन् । उनले गीत गाए पनि नारायण रायमाझीले गाएका असारे भाकाका गीत मात्र गाएका छन् ।
‘हामी अलिक व्यावसायिक पनि भयौं । असारे भाकाका गीतहरु सीमित समयावधिका लागि मात्र हुन्छन् । त्यसकारण पनि गायकगायिकाको चासो कम भएको हो कि जस्तो लाग्छ । अर्को कुरा मौलिकताको विषयमा पनि कम जानकार छौं’, उनी भन्छन् ।
बद्रीको बुझाईमा अधिकांश गायकगायिकाहरु वर्षौसम्म चलिरहने गीत गाउन चाहन्छन् । तर सिजनका गीतहरु त्यति धेरै अमर नभएका कारण पनि असारे भाकामा चासो कम हुँदै गएको उनको दाबी छ ।

