दसैँमा रिलिज हुने ‘छ माया छपक्कै–२’को सकियो छायांकन
काठमाडौं । चलचित्र ‘छ माया छपक्कै–२’को छायांकन सकिएको छ । ५० दिनमा छायांकन सकिएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिए ।
नुवाकोट, काभ्रे, पोखरा, काठमाडौंलगायत स्थानमा यो चलचित्रको छायांकन भएको थियो ।
दीपेन्द्र लामाको निर्देशन रहेको रहेको चलचित्र आमा सरस्वती मूभिज र निर्माता रोहित अधिकारीको सहकार्यमा निर्माण भएको हो ।
चलचित्रको अघिल्लो भागमा जस्तै यसपटक पनि मुख्य भूमिकामा दीपकराज गिरी र केकी अधिकारी नै छन् । अघिल्लो भागमा उनीहरूको जोडी र केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए । यो पटक सनिशा भट्टराई पनि थपिएकी छन् ।
जितु नेपालको पनि छोटो भूमिका रहेको बुझिएको छ । ‘छ माया छपक्कै–२’मा केदार घिमिरे ‘माग्ने बुढा’ भने यसमा छैनन् ।
सामाजिक–राजनीतिक कथावस्तु रहने ‘छ माया छपक्कै २’को दीपकराज र दीपेन्द्रले पटकथा लेखेका हुन् । यो चलचित्रलाई सुशन प्रजापतिले खिचेका छन् ।
सन् २०१९ मा प्रदर्शन भएको ‘छ माया छपक्कै’ पनि यही टिमको सहकार्यमा बनेको थियो । उक्त चलचित्रले बक्स अफिसमा ब्लकबस्टर व्यापार गरेको थियो ।
बक्स अफिसमा सफल हुने ग्यारेन्टी मानिने दीपक–दीपाको समूहले यस चलचित्रलाई आगामी दशैंको अवसर पारेर प्रदर्शनमा ल्याउँदै छ ।

