पात्र परिचयसँगै ‘पेन्सन पट्टा’को कथा प्रस्ट्याउने तीन नयाँ पोस्टर सार्वजनिक 

काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘पेन्सन पट्टा’का पात्रहरूको परिचय झल्काउने तीन नयाँ पोस्टर सार्वजनिक भएका छन् ।

चलचित्रको निर्माण टिमले असार १५ को अवसर पारेर यी तीन फरक शैलीका पोस्टर सार्वजनिक गरेको हो ।

हरितालिका तीजको अवसरमा आगामी भदौ २६ गतेबाट प्रदर्शनमा हुने चलचित्रको सार्वजनिक पोस्टरहरूले यसको मूल कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध, संघर्ष र ग्रामीण परिवेशलाई चित्रण गरेको छ ।

एउटा पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री गौमाया गुरुङलाई गाउँले परिवेशमा देखाइएको छ । गौमायाको काखमा रहेको पाठो र उनीहरूको सादा पहिरनले नेपाली गाउँघरको सरलता र मानवीय संवेदनालाई झल्काउँछ ।

अर्को पोस्टरमा दुवै कलाकार हात समातेर झरनाको बाटो हुँदै यात्रा गरिरहेका देखिन्छन् । डोको बोकेकी गौमाया र भारीसहित अघि बढिरहेका दयाहाङको दृश्यले संघर्ष, प्रेम, सहयात्रा र जिम्मेवारीपूर्ण जीवनको अनुभूति गराउँछ । प्राकृतिक सौन्दर्यबीचको उक्त दृश्यले चलचित्रको भावनात्मक पक्षलाई थप प्रभावशाली बनाएको छ ।

यस्तै, अर्को एक पोस्टरमा दयाहाङ सैनिक पोसाकमा प्रस्तुत छन् भने गौमाया परम्परागत गुरुङ पहिरनमा देखिएकी छन्। पृष्ठभूमिमा रहेका युवा पात्रहरूको उपस्थितिले प्रेम, प्रतीक्षा, परिवार र पुस्तान्तरणको कथालाई संकेत गरेको छ । समग्रमा पोस्टरहरूले ‘पेन्सन पट्टा’ पूर्वलाहुरेको जीवनमा मात्र सीमित नभई नेपाली समाज, पारिवारिक सम्बन्ध र मानवीय मूल्यको गहिरो कथा बोकेको चलचित्र रहेको आभास गराउँछन् ।

यो सिनेमाको शिर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक गुरुङ बताउँछन् । उनी भन्छन्,‘यो चलचित्र केवल एउटा पूर्वलाहुरेको पेन्सनको वरिपरि मात्र घुम्दैन । यसले नेपाली समाजको यथार्थ, पारिवारिक सम्बन्धका उतारचढाव, आशा, संघर्ष र सपना पूरा गर्न गरिने प्रयासलाई गहिरो गरी चित्रण गरेको छ ।’

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा निर्देशक गुरुङ कै लगानी रहेको छ । सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहेको सिनेमाका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने र प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ हुन् ।

निर्माण पक्षका अनुसार ‘पेन्सन पट्टा’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार विभिन्न मुलुकमा बिक्री भइसकेको छ । हालसम्म हङकङ, अष्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको छ भने अन्य देशसँग पनि प्रदर्शनबारे छलफल भइरहेको निर्देशक माओत्से गुरुङले जानकारी दिएका छन् ।

यो चलचित्रको नेपाल वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।