दुई साता छैनन् हलहरूमा नेपाली चलचित्र
काठमाडौं । केही समयअघिसम्म नेपाली चलचित्रको चापले हल पाउनै मुस्किल हुने अवस्था थियो । तर, असार महिनाको मध्यसम्म आइपुग्दा नेपाली हलहरूको दृश्य ठ्याक्कै उल्टो देखिएको छ । वैशाख र जेठको ‘भीड’ पछि अहिले नेपाली हलहरूमा स्वदेशी सिनेमाको खडेरी लागेको छ भने विदेशी सिनेमाले एकछत्र राज गरिरहेका छन् ।
गत वैशाख र जेठ महिनामा करिब एक दर्जन चलचित्रहरू प्रदर्शनमा आए, तर नतिजा भने निराशाजनक रह्यो । यस बीचमा रिलिज भएका चलचित्रमध्ये व्यावसायिक रूपमा सफलताको स्वाद चाख्ने एक्लो सिनेमा बन्यो ‘लालीबजार’।
सुखद व्यापार गरिरहेको यो चलचित्रले पनि अब बक्स अफिसमा आफ्नो यात्रालाई विश्राम दिएको छ । आज शुक्रबारबाट यो सिनेमा देशभरका हलबाट उत्रिएको छ । ‘लालीबजार’ मात्र होइन असार ५ मा रिलिज भएको ‘आइएम जितबहादुर’ र अघिल्लो साता रिलिज भएको ‘जाँड’ले पनि दर्शकको मन जित्न सकेनन् । कमजोर व्यापारका कारण यी दुवै चलचित्र एक सातामै पर्दाबाट विदा भएका छन् ।
हलमा नेपाली सिनेमाको प्रतिनिधित्वका लागि एउटा मात्र चलचित्र बाँकी रहेको छ, ‘रोल नं. १’। त्यो पनि निकै सीमित शो र हलहरूमा मात्र खुम्चिएको छ ।
नेपाली निर्माताहरूले असार महिनालाई चलचित्र रिलिजका लागि उपयुक्त नठानेका हुन् वा तयारी नपुगेको, जे भए पनि यो महिना नयाँ नेपाली सिनेमाको खडेरी नै लागेको छ । आगामी दुई सातासम्म कुनै पनि नयाँ नेपाली सिनेमा प्रदर्शन हुने छाँटकाँट छैन ।
अबको दुई साता पछि अर्थात् साउन १ गते मात्र नयाँ सिनेमा ‘गौँथली’ प्रदर्शनमा आउनेछ । यसले गर्दा आगामी १५ दिन नेपाली हलहरू स्वदेशी सिनेमाविहीन जस्तै बन्ने निश्चित छ । तर, हल व्यावसायीहरू भने यसबाट खासै चिन्तित छैनन् । किनकि, हलमा विदेशी सिनेमाको कुनै कमी छैन ।
यतिबेला हलहरूमा आधा दर्जनभन्दा बढी विदेशी सिनेमा छन् । विदेशीतर्फ ‘अल्फा’ र ‘बेबी डु डाइ डु’सहित ‘वेलकम टू द जंगल’, ‘ककटेल २’, ‘ओब्सेसन’, ‘मिनियन्स एण्ड मोन्स्टर्स’, ‘सुपर गर्ल’, ‘कोलोनी’, ‘टोय स्टोरी ५’ र ‘सुपरम्यान’ छन् ।
‘अल्फा’ र ‘बेबी डु डाइ डु’ आजबाट थपिएका बलिउड चलचित्र हुन् । हलिउड र बलिउडका ठूला चलचित्रहरूले दर्शकलाई हलसम्म तानिरहेकाले उनीहरूको व्यापार सुरक्षित देखिएको छ ।
हलमा विदेशी सिनेमाको एकछत्र दबदबा देखिएसँगै नेपाली सिनेमा क्षेत्रका लागि भने यो चिन्ताको विषय हो । एकातिर प्रदर्शनरत चलचित्रहरू टिक्न नसक्नु र अर्कोतिर नयाँ चलचित्रको रिलिज ग्याप बढ्दै जानु । अब साउन १ गते रिलिज हुने ‘गौँथली’ले यो खडेरीलाई चिर्दै दर्शकलाई पुनः नेपाली फिल्मतर्फ आकर्षित गर्न सक्छ या सक्दैन, त्यो भने हेर्न बाँकी नै छ ।

